हिमाल लम्साल
वीरगञ्ज (पर्सा), वैशाख १६ गते । वीरगन्ज उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्षदेखि संविधान सभाका सदस्य हुनुभएका ओमप्रकाश शर्माले वीरगन्ज महानगरमा स्थानीय जनप्रतिनिधि आएसँगै फोहरमैला व्यवस्थापनमा सुधारको अनुभूति गर्न थाल्नुभएको छ । उहाँको अनुभवमा डेढ दशक अघिसम्म वीरगञ्जकै मुख्य सडकमा मरेका पशु चौपाया तथा फोहोरमैलाको डङ्गुर थुप्रिएको हुन्थ्यो । “मुख्य सडक भएर यात्रा गर्ने जो कोहीले पनि नाकमुख छोप्दै हिँड्नुको विकल्प थिएन ।”
उहाँले भन्नुभयो, “मुलुकको सङ्क्रमणकालीन अवस्थाका कारणले २०५४ सालको निर्वाचनपछि स्थानीय तह लामो समय जनप्रतिनिधिविहीन रह्यो । यसका कारणले ससाना फोहरमैला व्यवस्थापनको विषयमा पनि नगरपालिकाको हाकिमकै मुख ताक्नुपर्ने बाध्यता थियो । तर, अहिले परिस्थिति फेरिएको छ । विसं २०७४ मा स्थानीय तहको निर्वाचनसँगै स्थानीय तहमा जनप्रतिनिधि आएसँगै उनीहरूले आफ्नो ठाउँबाट सुधार गर्नेतर्फ अग्रसर हुँदै आइरहेका छन् ।”
उहाँ आफैँले पनि वीरगन्ज सहर क्रमशः सुधारको छनक देखिँदै आइरहेको अनुभव गर्नुभएको छ । “पहिला त सडकमै मरेका गाई तथा कुकुर उठाउन पनि नगरपालिकाकै प्रमुख गुहार्नुपर्थ्यो”, उहाँले विगतलाई स्मरण गर्दै भन्नुभयो, “स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएसँगै कम्तीमा पनि वीरगन्जमा धेरै खालका सुधार देखिएका छन् । तर, यो पर्याप्त भने छैन । अझै सुधार गर्नुपर्ने धेरै कुरा छन् ।” संविधानसभाका सदस्य शर्मा मात्रै होइन, वीरगन्ज महानगरपालिका–१० घडीअर्वाका राधेश्याम गुप्ता पनि महानगरले विगतमा भन्दा अहिले फोहोरमैला सरसफाइमा ध्यान दिन थालेको अनुभव गर्नुभएको छ ।
“पहिला त महानगरको फोहोरमैला सङ्कलन गर्ने ट्याक्टर आउने कुनै भर नै हुँदैनथ्यो । आजभोलि त दैनिक दुईपटक फोहोरमैला सङ्कलन गर्ने ट्याक्टर आइरहेको छ । पक्कै पनि पहिलाभन्दा अहिले सरसफाइ भएको देखिन्छ”, उहाँले भन्नुभयो, “अहिले त यहाँ जथाभाबी रूपमा फोहोर फ्याँक्न पनि पाइँदैन । फोरमैला फालेको देख्यो कि नगरपालिकाले जरिवाना समेत तिराइहाल्छ ।” वीरगन्ज महानगरले बजार क्षेत्रमा बिहान र साँझ दुई पटक र ग्रामीण क्षेत्रमा भने दैनिक एक पटक फोहरमैला सङ्कलन गर्दै आइरहेको छ ।
वीरगन्ज महानगरपालिकाको नगर प्रमुखको रूपमा राजेशमान सिंहले नेतृत्व सम्हालेसँगै महानगरले जथाभाबी सडकमा फोहोरमैला फ्याँक्ने विरुद्ध कठोर नीति अपनाउँदै आइरहेका छन् । यसअघिका जनप्रतिनिधिले पनि फोहोरमैला व्यवस्थापन गर्न खोजे पनि कडा खालको दण्ड जरिवाना कार्यान्वयन गर्न सकिरहेका थिएनन् । महानगरले २०७९ पुस १७ गतेदेखि जथाभाबी फोहोरमैला फ्याँक्नेलाई जरिवाना गर्ने व्यवस्था सुरु ग¥यो । महानगरको सरसफाइ व्यवस्थापन शाखाका अनुसार २०७९ पुस १७ देखि २०८० चैत मसान्तसम्मको अवधिमा फोहोरमैला फ्याँक्ने सरकारी तथा निजी सङ्घसंस्था र व्यक्तिगत गरेर नौ सय ९२ जनालाई कारबाही गरी रु २७ लाख ८१ हजार एक सय पाँच सङ्कलन गरेको छ ।
वीरगन्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगर जथाभाभावी फोहोरमैला फ्याँक्नेविरुद्ध कठोर नीति अँगाल्दै आइरहेको बताउनुहुन्छ । ‘‘जथाभाबी फोहोरमैला फ्याँक्नेलाई जुनसुकै हालतमा पनि कारबाहीको दायरामा ल्याउँदै आइरहेका छौँ’’, उहाँले भन्नुभयो,‘‘ फोहोरमैला व्यवस्थापनको विषयमा मेयरसाबले जुनसुकै राजनीतिक हस्तक्षेप आए पनि मान्नुहुन्न । त्यसैले हामीलाई काम गर्नका लागि धेरै सहज वातावरण बनिरहेको छ ।’’
महानगरले महानगरक्षेत्रका सर्वसाधारण घरधनीबाट फोहोरमैला सङ्कलन गरेबापत कुनै शुल्क पनि लिँदैन । तर, व्यावसायिक ढङ्गले चलेका व्यवसायी, उद्योगी र सरकारी निकायसँग भने फोहोरमैलाको मात्रा हेरेर तीन सयदेखि तीन हजार रुपैयाँसम्म लिँदै आइरहेको छ ।
वीरगन्ज महानगरले फोहोरमैला सङ्कलन र व्यवस्थापनको जिम्मेवारी पृथ्वी/तारा एनके इन्टरप्राइजेज जेभीलाई दिएको छ । महानगर र जेभीबिच २०७६ जेठ २ गते पाँच वर्षका लागि फोहोरमैला व्यवस्थापनको सम्झौता भएको थियो । सो सम्झौताअनुसार वार्षिक रूपमा फोहोरमैला सङ्कलन गरेबापतको शुल्क पनि फरक–फरक निर्धारण गरिएको छ । अहिले महानगरले फोहोरमैला व्यवस्थापन गरेबापत निजी क्षेत्रलाई बर्सेनि रु पाँच करोड ७२ लाख उपलब्ध गराउँदै आइरहेको छ ।
वीरगन्ज महानगरका नगरप्रमुख सिंह महानगरले वीरगन्जको सबै क्षेत्रमा सुधारको सुरुआत मात्रै गरेको बताउनुहुन्छ । ‘‘हामीले वीरगन्जलाई सुधार गर्नका लागि सुरुआतको थालनी मात्रै गरेका छौँ । त्यसका प्रभाव देखिन लागि अझै केही समय पक्कै लाग्नेछ’’ उहाँले भन्नुभयो, ‘‘हामीले सरसफाइमा केही राम्रो सुरुआत गरेका छौँ तर व्यक्तिगत रूपमा हेर्दा यसबाट सन्तुष्ट हुने अवस्था छैन । केबल वीरगन्ज महानगरका मुख्य सडकहरू मात्रै चिटिक्क सफा पारेर भएन् । यहाँका शाखा तथा भित्री सडकहरू पनि मुख्य सडकजस्तै चिटिक्क र आकर्षक हुनुपर्छ भनेर नै त्यसको लागि लागिपरेका छौँ ।’’
वीरगन्जका नगरवासीहरू भने वीरगन्जको बजार क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा र सिर्सिया नदी सरसफाइमा महानगरको ध्यान नपुगेको टिप्पणी पनि गर्छन् । त्यति मात्रै होइन, खुल्ला नालीको कारणले लामखुट्टे र दुर्गन्ध पनि बढिरहेको गुनासो गर्छन् । नगरप्रमुख सिंहले वीरगन्जको सुरुआती चरणदेखि नै वीरगन्जको ढल निकासको नाली खुल्ला भएकाले पनि व्यवस्थापन गर्नका लागि स्रोतको अभाव रहेको बताउनुभएको छ । ‘‘हामीले यो वर्ष मात्रै नौ किलोमिटर खुल्ला नाली सरसफाइ गरेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘खुला ढल निकासले निकै चुनौती थपिरहेको छ । यसका लागि कम्तीमा पनि तीन/पाँच अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेका छौँ । सो निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग माग राख्दै आइरहेका छौँ ।’’
नगर प्रमुख सिंहले सिर्सिया नदीको प्रदूषण न्यूनीकरण गर्ने सम्बन्धमा केही दिनभित्रै ठोस निर्णय गर्ने दाबी गर्नुभयो । महानगर सरसफाइ शाखाका प्रमुख मियाँ पनि ग्रामीण क्षेत्रका जनतामा सरसफाइसम्बन्धी चेतनास्तर कम हुँदा पनि सबै खालको फोहोरमैला नालीमा फ्याँक्ने समस्या रहेको बताउनुभयो ।
वीरगन्ज महानगर १३२ दशमलव २ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । महानगरमा दैनिक ५५ देखि ६५ मेट्रिक टन फोहोरमैला सङ्कलन हुने गर्छ । महानगरको फोहोरमैला निजी कम्पनीले दैनिक २५ ट्याक्टर तथा तीनवटा ट्रिपरको सहायताले व्यवस्थापन गर्दै आइरहेको छ । महानगर क्षेत्रबाट निस्कने फोहोरमैलाको व्यवस्थापन भने पर्सा र बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने विश्रामपुर गाउँपालिकाको १६ बिघा नौ कठ्ठा सात धुर क्षेत्रफलमा रहेको ल्याडफिल्ड साइडमा हुँदै आइरहेको छ ।
महानगरको फोहोरमैला व्यवस्थापन गर्दै आएको पृथ्वी/तारा एनके इन्टरप्राइजेज जेभीका सञ्चालक शिव गुप्ताले महानगरमा उदाहरणीय ढङ्गले फोहोरमैला व्यवस्थापन गर्दै आइरहेको दाबी गर्नुभयो । उहाँका अनुसार दैनिक दुई सय ७५ जना कर्मचारी खटाएर फोहोरमैलाको व्यवस्थापन हुँदै आइरहेको छ । महानगरका ३२ वटै वडा कार्यालयले प्रत्येक वडामा पाँच जनाका दरले ज्यालादारीमा सरसफाइ कर्मचारी नियुक्त गरेर बाह्रैमास नाली तथा मङ्गल सफा गर्दै आइरहेको जनाएको छ ।
उज्यालो वीरगन्जले सार्थकता पाउँदै
महानगरले सरसफाइ मात्रै, नभएर ‘उज्यालो वीरगन्ज’ कार्यक्रमलाई पनि उत्तिकै प्राथमिकता साथ अघि बढाएको छ । नगरप्रमुख सिंहले आफूले जिम्मेवारी सम्हालेसँगै व्यक्तिगत रूपमा उज्यालो वीरगन्ज कार्यक्रमबाट सन्तुष्ट भएको प्रतिक्रिया दिनुभएको छ ।
मैलै नगरप्रमुखको जिम्मेवारी लिएसँगै व्यक्तिगतरुपमा पनि चित्त बुझेको काम भने उज्यालो वीरगन्जको काममा भने सन्तुष्ट रहेको छु । पहिलाका जनप्रतिनिधिले उज्यालो वीरगन्जको अभियान सुरुआत गर्ने भने तापनि अँध्यारो वीर गन्जमा परिणत भइसकेको थियो । “अहिले वीरगन्जका ३२ वटै वडाको जुनसुकै गल्लीमा उज्यालो छ, उज्यालो वीरगन्ज कार्यक्रमले सार्थकता पाएको छ”, उहाँले भन्नुभयो, “उज्यालो वीरगन्ज कार्यक्रमलाई सार्थकता दिन यहाँका कर्मचारी ३६५ दिनै खटिएर लागिपरेका छन् ।”
महानगर विद्युत् शाखाका इन्जिनियर राजीवकुमार उपाध्यायले महानगरले उज्यालो वीरगन्ज कार्यक्रम अन्तर्गत १३ हजार तीन सय २२ वटा पोलमा सडक बत्ती जडान गरेको बताउनुभयो । ‘‘महानगरले करिब रु २३ करोड लागतमा अहिले ३२ वटै वडामा उज्यालो वीरगन्ज अभियानलाई अघि बढाएको छ,’’ उहाँले भन्नुभयो,‘‘हामीले सहरी क्षेत्रमा मात्रै होइन, ग्रामीण क्षेत्रमा पनि उत्तिकै प्राथमिकता दिँदै उज्यालो वीरगन्ज कार्यक्रमलाई अघि बढाउँदै आइरहेका छौँ ।’’ महानगरका अनुसार अब करिब तीन हजार पोलमा मात्रै बत्ती जडान गर्न बाँकी छ ।
महानगरले स्ट्रिपलाइन (विभिन्न रङ्गका लाइट) र सडक बत्ती जडान गर्दै आइरहेको छ । यो लाइटको जडानको जिम्मेवारी भने सूर्य/उदय/टप्सन इनर्जी जेभीले प्राप्त गरेको थियो । पछिल्लो समय वीरगन्जका धार्मिक तथा पर्यटकीयस्थलमा विभिन्न रङ्गीचङ्गीका बत्तीहरू पनि राखिएका छन् । घण्टाघर, शङ्कराचार्य गेट, भानुचोकमा पनि राखिएका छन् । यति मात्रै होइन, वीरगन्जका धार्मिक स्थलहरू गहवामाई मन्दिर, रामजानकी मन्दिर, गीता मन्दिर, पशुपतिनाथ मन्दिर, राधेमाई, शिव मन्दिर, लालपर्सा वीरगन्जका मुख्य सडकहरू बाइपास, रेल्वे रोड, लिंकरोड, घण्टाघर–रक्सौल सडक खण्डलगायतका सबैजसो स्थानमा विभिन्न रङ्गका लाइट जडान गरिएको छ । रासस