• ३० वैशाख २०८१, आइतबार

पानी नपर्दा सुक्न थाल्यो चैते धान

blog

पानी नपर्दा धाँजा फाटेको चैते धान खेत । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, वैशाख १६ गते । आकासे वर्षा नहुँदा चैते धान सुक्न थालेको छ । चैते धान रोपेदेखि पानी नपर्दा खेतमा धाँजा फाटेको छ । यो वर्ष जिल्लामा चैते धान खेती विस्तार भएको अवस्थामा सुरुमै खडेरीले प्रभाव पारेको लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले बताउनुभयो । 

यो वर्ष दोब्बर बढी क्षेत्रफलमा चैते धान रोपिएकोमा आकासे वर्षा नहुँदा बाली प्रभावित बनेको उहाँले बताउनुभयो । पौडेलले वर्षा नहुँदा पानीको तह नै कम भएर स्यालो ट्युबेलमा समेत पानी आउन छाडेकाले चैते धानलाई सिँचाइको समस्या भएको उहाँले बताउनुभयो । 

“यो वर्ष हाम्रो पालिकाभित्र चैते धानको खेती दोब्बर बढीले विस्तार भएको थियो तर सुरुमै वर्षाले साथ दिएन,” कृषि शाखा प्रमुख पौडेलले भन्नुभयो, “पानीको तह नै दिनानुदिन झन्झन् तल जाँदा स्यालो ट्युबेलमा पानी आउन छाडेको छ ।” कृषि शाखा प्रमुख पौडेलका अुनसार यो वर्ष लालबन्दी नगरपालिकाभित्र करिब तीन सय हेक्टर जग्गामा चैते धान खेती भएको छ । 

लालबन्दी नगरपालिकाको जब्दी र हरिभवन क्षेत्रमा चैते धानको बढी खेती हुने गरेको छ । सिँचाइको सुविधा भएको ठाउँमा मात्रै चैते धान खेती हुने गरेको तर आकासे वर्षा नै नभएर पानीको तह तल जाँदा समस्या परेको किसानले बताएका छन् । 

चक्रघट्टा गाउँपालिकाका कृषि शाखाका प्रमुख रामईश्वर राय यादवले आफ्नो पालिकाभित्र गत वर्षदेखि चैते धान खेती सुरु भएको बताउनुभयो । “चक्रघट्टामा गत वर्षदेखि किसानले चैते धान खेती गर्न थालेका छन्, अहिले करिब १५ हेक्टरमा चैते धान लगाइएको छ,” यादवले भन्नुभयो, “अहिलेसम्म त डिपबोरिङबाट पानी आइरहेको छ तर अझै खडेरी लम्बियो भने हाम्रोतिर पनि सिँचाइको समस्या पर्ने देखिन्छ ।” कृषि ज्ञान केन्द्र मलङ्गवाले यो वर्ष जिल्लाभर नै चैते धान खेती बढेको जनाएको छ । कार्यालयका प्रमुख देवानन्द रायले चैते धानको खेती विस्तार भएको तर रोप्नेबित्तिकै खडेरी जाँदा बाली प्रभावित हुन थालेको बताउनुभएको छ । 

वर्षा भएको भए चैते धानमा हरियो फिरिसक्थ्यो तर पानी नपर्दा अधिकांश खेतमा धाँजा फाटेर बाली नै सुक्न थालेको छ ।