• २८ वैशाख २०८१, शुक्रबार

इलामको मतगणना ११ बजेदेखि हुने

blog

तयारी अवस्थामा रहेको मतगणनास्थल ।

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), बैशाख १५ गते । इलाम निर्वाचन क्षेत्र २ को मतगणना आज ११ बजेदेखि हुनेभएको छ । निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आइ पुगेकाे र सर्वदलिय बैठकको निर्णय बसेर मतगणना ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । 

मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार मतदान केन्द्रको मतपेटीका आइ पुगेकाे छ । मतपेटीका आएर मतपेटिका रुजु गर्न समय लाग्ने भएपछि गणनाको काम बिहान मात्र सुरु गर्ने अधिकृत घिमिरेले जानकारी दिनुभयो । 

राजनीतिक दलका प्रतिनिधिले पनि बिहानबाट मात्र गणना सुरु गर्न सुझव दिएका छन् । काँग्रेसका जिल्ला सचिव निरोज खड्गीले बिहानबाट मात्र मतगणना सुरु हुने जानकारी दिनुभयो । 

एमाले जिल्ला सचिव उमेश गुरुङले मतपेटीका आइपुग्न समय लाग्ने भएका कारण हतारो गर्नु पर्ने कारण नरहेको बताउनुभयो । मतगणना गर्नेस्थल गौतमबुद्ध सभागृहमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ । मतगणना स्थलमा तारबेरा गरी सीसीटिभी जडान गरिएको छ । 

इलाममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । इलाम २ का ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्रलाई संबेदनशील मानिए पनि शनिबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । 

इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ जना मतदाता रहेकोमा ६९ हजार दुई सय ८७  (५९ दशमलब ७९ प्रतिशत) मत  खसेको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो । 

संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो । इलाम २ मा एमालेबाट नेम्वाङका छोरा सुहाङ नेम्वाङ, काँग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचानवादीका डकेन्द्रसिंह थेगिम बिचमा प्रतिष्पर्धा हुने देखिएको छ । इलाम २ मा राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारले उम्मेदवारी दिनुभएको छ ।