• १३ साउन २०८१, आइतबार

‘लोकतन्त्र बचाउन गठबन्धन’

blog

तस्बिर : मनोजरत्न शाही -प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रम उद्घाटन गर्नुहुँदै ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान गठबन्धन टुटाउने प्रयास भए पनि त्यो विफल हुने बताउनुभएको छ ।  नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा आयोजित ‘आगामी निर्वाचनमा नेपाल विद्यार्थी सङ्घको भूमिका’ विषयक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई कमजोर बनाउने शक्तिहरूले वर्तमान गठबन्धनलाई टुटाउने प्रयास गरिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “गठबन्धनमा ‘गिभ एन्ड टेक’को कुरा भइहाल्छ । गठबन्धनका अरू शक्तिले नेपाली काँग्रेस ठूलो पार्टी भएकाले बढी हिस्सा दिने र अरू साना पार्टीले सानै भाग खोजेका छन् । त्यसमा आपत्ति मान्नुपर्ने अवस्था छैन ।”

प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा नेपाली जनताद्वारा कम्युनिस्ट पार्टीहरूलाई झन्डै दुई तिहाइ बहुमत दिए पनि जनहितमा काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको काम पनि गर्न नसक्ने अनि संसद् विघटन गर्दै जाने र प्रतिगमनको काममा अग्रसर भएपछि म प्रधानमन्त्रीको पदमा पुगेको हुँ । लोकतन्त्र बचाउनका लागि गठबन्धन पनि बनेको हो ।”

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि अझै पनि खतरा कायमै रहेको बताउनुभयो । उहाँले लोकतन्त्र बचाउनैका लागि वर्तमान गठबन्धन बनेको र लोकतन्त्रको खतरा नटरुन्जेलसम्म गठबन्धन कायम रहने तर्क प्रस्तुत गर्नुभयो । उहाँले गठबन्धनका कारण नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिगमनकारीसँग हात मिलाउँदै हिँडेको आरोप लगाउनुभयो । नेता पौडेलले भन्नुभयो, “एमाले अध्यक्ष ओली अहिले कुन र कस्ता मान्छेसँग हात पसार्दै हिँडेका छन् ? त्यो हेर्दा नै थाहा हुन्छ कि अझै प्रतिगमनकारी शक्ति एकजुट हुँदैछन् । त्यसकारण हामी सचेत हुन आवश्यक छ ।”

पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस लोकतन्त्रका लागि लडेको पार्टी भएकाले लोकतन्त्र खतरामा पर्दै जाँदा तरुण, युवाको आवश्यकता हुने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा नेपाली काँग्रेसले नजिते फेरि लोकतन्त्रलाई धरापमा पार्नेहरू माथि उठ्न सक्नेप्रति चिन्ता व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले लोकतन्त्रलाई बलियो बनाउन अझै युवा विद्यार्थीले जाग्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, “जब जब मुलुकमा लोकतन्त्र हरण हुने खतरा बढ्छ तब तब युवाको आवश्यकता पर्ने गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा युवाले खेलेको भूमिका जति प्रशंसा गर्दा पनि कमै हुने गरेको छ ।” पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले देशमा गफ चुटेर जनताको मनमा भ्रम फैलाउन विपक्षी नेता रातदिन लागेको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, “काम गर्ने पार्टी नेपाली काँग्रेस हो । गफ गर्ने अरू छन् । यो निर्वाचनमा काम गर्ने पार्टी र गफ गर्ने छुट्याएर भोट हाल्नुपर्ने बेला आएको छ ।” नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी सभापति देउवाले नेपाल विद्यार्थी सङ्घका संस्थापकहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो । तत्कालीन पञ्चायती शासन व्यवस्था परिवर्तन गर्न युवा विद्यार्थीलाई सक्रिय गराउन २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको स्थापना भएको थियो ।