• २५ वैशाख २०८१, मङ्गलबार

घरमा आगलागी हुँदा लाखौंको क्षति

blog

आगलागीले नष्ट भएको देवेन्द्र लिम्बूको घर।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १४ गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा शुक्रबार दिउँसो एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ। फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम, दिबुङ टोलका देवेन्द्र लिम्बूको घर आगलागी हुँदा लाखौंको क्षति भएको हो।

गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार दिउँसो करिव १:३० बजेतिर विद्युत् सर्ट भई लिम्बूको घरमा आगलागी भएको हो। ढुङ्गा, माटो, काठ र जस्तापाताले बनेको तीनतले घर जलेर नष्ट हुँदा घरमा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र केही नगद तथा सुनचाँदीका गरगहना जलेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार आगलागीबाट १२ लाख २३ हजार रुपियाँ बराबरको क्षति भएको छ। नगद ३५ हजार रुपियाँ, एक तोला सुन र दुई तोला चाँदीको गरगहानासहित घरभित्र रहेको सम्पूर्ण सामग्री जलेर नस्ट हुँदा उक्त मूल्य बराबरको क्षति हुन पुगेको लुङगेलीले जानकारी दिनुभयो।

यता आगलागी पीडित लिम्बूको परिवारलाई गाउँपालिकाको तर्फबाट खाद्यान्न, भाँडावर्तन र त्रिपाल वितरण गरिएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले पनि जिन्सी सामग्री उपलब्ध गराएको छ।