विकास अधिकारी
नवलपरासी पश्चिम, वैशाख ११ गते । रामग्राम– १८ मा रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरमा गरिएको उत्खननको क्रममा जमिनमुनि थप संरचनाहरू भेटिएका छन् । ती संरचनाहरू बुद्ध सँग सम्बन्धित भएको पुरातत्त्व विभागले जनाएको छ ।
रामग्राम नगरपालिकाको लगानीमा कोलीय गणराज्यको राजधानी दाबी गरिएको स्थल पण्डितपुरमा एक महिना सम्म पुरातत्त्व विभागले उत्खनन गरेको हो । चालु आर्थिक वर्षमा पण्डितपुरमा दोस्रो पटक उत्खनन भएको छ । पण्डितपुरको पाँच स्थानमा गरिएको उत्खननका क्रममा इँटाका ठुला पर्खाल, प्राचीन कालमा विभिन्न उपयोगका लागी बनाइएको नहर (डिच) का साथै विभिन्न पुरातात्त्विक सामाग्री फेला परेको छ ।
ढुङ्गा र हड्डीका हतियार, भाँडाकुँडा आदिको थप अध्ययन गरिने पुरातत्त्व विभागले जनाएको छ । पण्डितपुरको जमिनमुनि चक्र आकारमा व्यवस्थित बुद्धकालीन सहरको संरचना रहेको विगतको अध्ययनले पुष्टि गरिसकेको छ । विगतमा गरिएको अध्ययनमा धेरै संरचना रहेको थाहा भएकाले थप अध्ययनलाई निरन्तरता दिइएको पुरातत्त्वविद् भास्कर ज्ञवालीले जानकारी दिनुभयो । यसअघि भएको जियो फिजिक्स सर्भेका क्रममा देखिएको बुद्धकालीन सहरको संरचना उत्खननको क्रममा फेला परेको छ । बेलायतमा गरिएको अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचना इशापूर्व छैटौँ शताब्दीका भएको पुष्टि भइसकेको छ ।
विश्व सम्पदा सुचीमा सूचीकरणको तयारीमा रहेको कपिलवस्तुको तिलौराकोटसँग मिल्दोजुल्दो मितिका संरचना पण्डितपुरमा भेटिएको पुरातत्त्व विभागले जनाएको छ । झन्डै ६२ बिगाहा क्षेत्रफलमा फैलिएको पण्डितपुर कोलियगण राज्यको राजधानी र बुद्धको मावलीको रूपमा दाबी गरिँदै आएको छ । पण्डितपुरमा भेटिएका केही सामाग्री तथा माटोका पर्खालहरू तिलौराकोटमा भेटिएको भन्दा पनि फरक प्रकृतिका तथा पुराना संरचना देखिएको पुरातत्वविद्को भनाई छ । जसका कारण उक्त स्थलको जमिन संरक्षणमा पुरातत्त्व विभागले जोड दिएको छ ।
रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले रामग्राम नगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर पण्डितपुरको वास्तविकता पत्ता लगाउन पुरातत्वविद्को समन्वयमा काम गर्दे आएको बताउनुभयो । पुरातात्त्विक स्थलको संरक्षणमा स्थानीयलाई समेत जागरूक बनाएर काम गर्दे आएको बताउँदै नगर प्रमुख यादवले सङ्घीय सरकारले बजेट र विज्ञको व्यवस्थापनमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पर्याप्त अध्ययन हुन सकेमा विश्वमै पण्डितपुर बुद्धसँग सम्बन्धित सबैभन्दा पुरानो स्थलको रूपमा स्थापित हुने नगर प्रमुख यादवको भनाई छ । पण्डितपुरमा जमिनको सतहबाट १० सेन्टिमिटर मुनि देखि इँटाबाट बनेका संरचना भेटिने गरेका छन् । उक्त स्थानमा भेटिएका पुरातात्त्विक सामग्रीलाई प्रदर्शन गर्न उक्त स्थानमा सङ्ग्रहालय निर्माण गरिने नगरपालिकाले जनाएको छ । पुरातात्त्विक क्षेत्रको जग्गा यकिन गरेर अधिग्रहण गर्नुपर्ने भएकाले सङ्घीय सरकारले सहयोग गर्नुपर्ने नगर प्रमुख यादवको भनाई छ ।