गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ७ गते । नेपाल वायुसेवा निगमले जहाजको पाङ्ग्रामा आउन सक्ने ससाना दरार तथा प्राविधिक कमजोरी पत्ता लगाउने ननडिस्ट्रक्टिभ टेस्ट (एनडिटी) प्रविधि लागु गरेको छ । जहाज दुर्घटना र महँगो मर्मत खर्चबाट उपकरण जोगाउन सहयोग पुग्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त प्रविधिको सहयोगले सबै जहाजको पाङ्ग्रा, पाङ्ग्राको नट, बोल्ट, स्प्रिङलगायतका पार्टपुर्जामा आँखाले देखिने समस्या समाधान हुने निगमले जनाएको छ ।
निगमका प्राविधिक प्रवक्ता मनोजकुमार साहका अनुसार जहाज मर्मतको सुरक्षास्तर उच्च राख्न र अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड अनुसार हवाई सुरक्षा सुनिश्चित गर्न एनडिटी प्रविधि संसारभर सफल मानिँदै आएको छ । निगमले सात वर्षपहिले नै एनडिटी प्रविधि भित्र्याएको थियो । प्राविधिक कारणले उक्त सेवाले निरन्तरता पाउन सकेको थिएन । नयाँ उपकरणसहित पुनः एनडिटी प्रविधि सञ्चालनमा ल्याएसँगै अब निगमलाई अन्य कम्पनीका जहाजको पनि परीक्षणबाट आम्दानी गर्न र निगमको मर्मतको दायरालाई फराकिलो बनाउन सहयोग पुग्ने छ । नेपालमा हाल यो प्रविधि बुद्ध एयरसँग मात्रै छ ।