विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ७ गते । शिक्षा विधेयकमा समावेश गरिएका केही व्यवस्थाप्रति आपत्ति जनाउँदै निजी विद्यालयका सञ्चालकहरुले सप्तरीमा प्रदर्शन गरेका छन् ।
नीजि विद्यालयका सञ्चालकहरुले बस र्याली निकालेर शुक्रबार विरोध प्रदर्शन गरेका हुन् । विद्यालय सञ्चालकहरुले आ–आफ्नो विद्यालयका बस ल्याएर विरोध र्याली निकालेका थिए ।
जिल्लाको सप्तकोशी, कञ्चनरुप, तिलाठी कोइलाडीसहितका ठाउँमा प्रदर्शन गरिएको प्याव्सन सप्तरीका अध्यक्ष उग्रकान्त झाले जानकारी दिनुभयो ।
शिक्षा विधेयकमा राखिएको ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनुपर्ने, विद्यालयहरुमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरुलाई ‘गैरनाफा मूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था मिलाउनुपर्ने उहाँहरुको माग छ ।
यस्तै, छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३(क), नियमावली, २०६० को नियम १० (क), मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐनअन्तर्गतको विभेदकारी प्रावधान जस अनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रमअन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनुपर्ने नीजि विद्यालयका सञ्चालकहरुले माग गर्नुभएको हो । माग पूरा नभएसम्म आन्दोलनलाई जारी राखिने प्याव्सन, सप्तरीका अध्यक्ष झाले बताउनुभयो ।