मङ्गल ग्रहमा पृथ्वीमा भन्दा लाखौँ गुणा तीव्र गतिको इन्टरनेट सेवा सुरु हुँदै छ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले मङ्गल ग्रहमा उच्च गतिको इन्टरनेट सेवा स्थापित गर्ने विषयमा छिटै काम सुरु गर्ने भएको छ ।
वास्तवमा यो नासाको गहन अन्तरिक्ष इन्टरनेट सञ्जाल योजना (डिप स्पेस इन्टरनेट नेटवर्क प्लान) हो । यसको सबैभन्दा पहिलो लाभ मङ्गल ग्रहलाई प्राप्त हुने छ । डिप स्पेस अप्टिकल कम्युनिकेसन (डिएसओसी) नामक नयाँ प्रविधिको परीक्षण हाल नासाको साइकी अन्तरिक्ष यानमा गरिँदै छ र अहिलेसम्मको परिणाम आशाजनक छ ।
यो प्रणालीले दुरस्थ अन्तरिक्षमा डाटा प्रसारणका लागि पारम्परिक रेडियो ट्रान्समिसनको साटो शक्तिशाली लेजरको प्रयोग गर्दछ । यसबाट मौजुदा विधिको तुलनामा सय गुणा अधिक गति प्राप्त हुन्छ ।
यो प्रविधिबाट लाखौँ किलोमिटर टाढासम्म एचडी भिडियो तथा जटिल डाटा प्रेषित गर्न सकिन्छ । अर्थात् यो प्रविधिबाट अन्तरिक्ष वा मङ्गल ग्रहमा हुने अनुसन्धानका डाटा, भिडियो, अडियो तथा तस्बिर सजिलैसँग केही सेकेन्डमै पृथ्वीमा प्राप्त हुने छन् ।
डिएसओसी प्रविधि यसअघि नै ४६ करोड किलोमिटर टाढाबाट डाटा प्रेषित गर्नमा सक्षम भइसकेको छ । जुन पृथ्वी र मङ्गलबीचको दूरीभन्दा पनि धेरै छ । नजिकको दूरी जस्तै पृथ्वी र मङ्गलबीचको पाँच करोड ३० लाख किलोमिटरको दूरीमा यो प्रविधिले २६७ मेगाबिट प्रतिसेकेन्डको गतिमा डाटा प्रसारण गर्ने छ । यो उच्च गतिको इन्टरनेटको क्षेत्रमा एउटा चमत्कार नै हो ।
नासाको जेट प्रोपल्सन प्रयोगशालामा डिएसओसी परियोजनाका एक प्राविधिकका अनुसार उक्त प्रविधिको परीक्षणमा प्राप्त नतिजा निकै उत्साहप्रद तथा अपेक्षाभन्दा पनि अब्बल छ । यद्यपि यो प्रविधि अहिले आफ्नो प्रायोगिक चरणमै रहेको छ ।
–युवामञ्च