• २४ वैशाख २०८१, सोमबार

महोत्तरीमा ७ लाखभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

blog

रवीन्द्र उप्रेती

बर्दीबास, वैशाख १४ गते । मधेश प्रदेशका अधिकांश जिल्लामा स्वास्थ्य चुनौती बनेको हात्तीपाइले रोग निवारणका लागि महोत्तरीमा आम औषधी सेवन अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत वैशाख १६ गतेदेखि जिल्लाभर सञ्चालन हुने अभियानमा महोत्तरीका २ वर्षभन्दा माथिको उमेर समूहका ७ लाख १६ हजार २६४ जनालाई औषधी खुवाउने भएकाे हो । 

स्वास्थ्य कार्यालय महोत्तरीकी प्रमुख सुनिता गुप्ताका अनुसार जिल्लाका १५ वटै पालिकामा एक साथ सञ्चालन हुने अभियानका लागि महिला स्वास्थ्य स्वयं सेविका बाहेक ६३२ जना स्वाथ्यकर्मी परिचालनको तयारी गरिएको छ । भारतीय सीमासँग जुटेको महोत्तरी हात्तीपाइलेको उच्च जोखिममा छ । सीमावर्ती मटिहानीका केही विद्यालय र मदरसाका ६०० विद्यार्थीमा नमूना परिक्षण गरिँदा २१ जनामा हात्तीपाइलेको सङ्क्रमण फेला परेको स्वास्थ्य प्रमुख गुप्ताले बताउनुभयो ।  

यो अनुपातको आधारमा ७ लाखभन्दा बढी जनसङ्ख्या भएको महोत्तरीमा २५ हजार स्थानीय जनता हात्तीपाइलेबाट सङ्क्रमित हुन सकने अनुमान गरिएको छ । परीक्षणका क्रममा राम मावि मटिहानीमै १८ जना छात्रछात्रामा हात्तीपाइले पोजेटिभ पाईएपछि यसको संक्रमण दर चिन्ताजनक रहेको जनाइएको छ । राम मावि नेपाल भारत दशगजा नजिकको विद्यालय हो । 

नेपालमा सन् २०२० सम्म हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्यसहित सन २००३ देखि औषधी खुवाउन सुरु गरिए पनि ७ जिल्लामा अझै पनि निवारण हुन सकेको छैन । त्यसैमध्येको महोत्तरीमा यसको सङूक्रमण दर उच्च रहेकाले यो अभियानलाई सफल पार्न स्वास्थ्य प्रमुख गुप्ताले सवैसँग आग्रह गर्नुभयो । यही अभियानअन्र्तगत बर्दीबास नगरपालिकाले २ वर्षभन्दा माथि उमेरका ७२ हजार १५० जनालाई हात्तीपाइले विरुद्धको औषधी ख्वाइने तयारी गरिएको जनाएको छ । 

बर्दीबासको बिजलपुराका एक दलित परिवारमा यो रोगको सङ्क्रमण देखापरेकोले औषधी सेवन अभियानलाई सफल पार्न नगरपालिकाले सवै नगरबासीसँग आग्रह गरेको छ । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले नगर क्षेत्रका विधालय, बर्दीबास असपतालसमेत २१ वटा स्वास्थ्य संस्था, सामूहिक भवन, सार्वजनिक चोक लगाएत घरघरै पुगेर औषधी खुवाउने तयारी गरिएको बताउनुभयो । यसका लागि नगर स्वास्थ्य शाखाले ७२ जना महिला स्वास्थ्य स्वयंसेविका र २८ जना स्वास्थ्यकर्मीसहित एक सय बढी जनशक्ति परिचालनको तयारी गरेको छ। 

"प्रति एक सय ५० जनालाई औषधी खुवाउन १-१ जना महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई जिम्मेवारी तोकिएको छ," पासवानले भन्नुभयो । यो पटक औषधी खान कोही नछुटुन् र कोही न दोहाेरिउन् भनि विशेष व्यवस्था गरिएको पासवानले बताउनुभयो । यो अभियानलाई चरितार्थ पार्न घर घरै पुगेर पनि औषधी खुवाउने तयारी गरेका छौं। अर्कोतिर २ वर्षमाथिका बोल्न र बुझ्न नसकने बालबालिका नदोहरिउन भनेर औषधी खुवाएपछि उनीहरुको औलामा मार्करले चिनाे लगाउने व्यवस्था मिलाएकाे उहाँले बताउनुभयो । 

‘राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागी आम औषधी सेवन अभियान’ लाई सफल बनाउन स्वास्थय कार्यालय महोत्तरीले जलेश्वर तथा बर्दीबास नगर स्वास्थ्य शाखाले बर्दीबासमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, संचारकर्मी र सरोकारवालालाई अभियानको महत्व र आवश्यकताबारे विस्तृत जानकारी गराएको छ ।