काठमाडौँ, वैशाख १२ गते । चित्रकला विधालाई विश्वभाषा मानिन्छ । कारण, यसलाई बुझ्न र बुझाउन कुनै भाषा आवश्यकता पर्दैन । चित्रकला त्यो विधा हो; जसमा सम्पूर्ण भाषा, सङ्गीत र साहित्य अटाएको छ ।
चित्रकला सुन्दर हुन्छ, मनमा उब्जेका सुन्दर भावना र कल्पनालाई रङको माध्यमबाट क्यानभासमा उतार्ने काम चित्रकारले गर्छन् । परिकल्पनालाई क्यानसभामा चित्रण गरी विश्वसमाजलाई थप चिन्तनशील बनाइदिने कार्य कलाकारले नै गरिरहेका हुन्छन् । राफेल, भेनगाग, डाली, पिसारो, लियोनार्दो दा भिन्ची, पाब्लो पिकासो, मोने, माने, दोमियर, कुर्बे, कान्दस्की, विलियम डी कनिङ, ज्याक्सन पोलकलगायत सयौँ कलाकारले विश्वकलाको विकासमा महत्वपूर्ण योगदान दिएका छन् ।
नेपालकै सन्दर्भमा पनि लिच्छवि र मल्लकालमा मूर्तिकलाको विकास भएको देख्न सकिन्छ । काठमाडौँ, भक्तपुर, ललितपुरलगायत सहरका मठमन्दिरमा रहेका पाषाण मूर्तिलाई कला विकासको उत्कृष्ट अवस्था मान्न सकिन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीका अनुसार नेपालमा कलाको विकास तीव्र गतिमा भइरहेको छ । उहाँले सीमित स्रोतसाधन हुँदाहुँदै पनि प्रतिष्ठानले अध्ययन अनुसन्धानका क्षेत्रमा काम गरिरहेको र यसले कलाकारलाई उत्प्रेरित गर्ने कार्य भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कलाको क्षेत्रमा हामी अरू देशभन्दा अघि बढिरहेका छौँ ।” कलाकार रवीन्द्र श्रेष्ठका अनुसार युवा पुस्तामा सङ्घर्ष नै नगरी सफलताको आस गर्ने प्रवृत्ति बढ्दो छ । तथापि कलाकार रवीन्द्र चित्रकला अहिले राम्रो भविष्य देख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “कलाकारले जति मेहनत र धैर्य राख्छ, उति अमूल्य हुन्छ ।” चित्रकार सुरेम देशारको विचारमा चित्रकला सधैँ आयआर्जनकै लागि मात्र गरिन्न । उहाँका अनुसार समाज र राष्ट्रप्रतिको उत्तरदायित्व र कला विकासमा योगदान दिने हिसाबले पनि कलाकार काममा खटिइरहेका हुन्छन् । त्यस कार्यले कलाकारलाई आर्थिक रूपमा सहयोगसमेत गरिरहेको हुन्छ ।
कला मानव सभ्यतासँगै जोडिएको छ । नेपाली चित्रकलाको इतिहास हेर्ने हो भने पौभा, मण्डला, पाटा (बेरुवा चित्र) तथा भित्तेचित्रसँगसँगै कलाको विकास भएको हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको एक अध्ययन अनुसार नेपाली शैलीका मन्दिर, शिखर शैलीका मन्दिर, स्तूपा, विहार, वास्तुकलाका प्रतीक हुन् ।
मानवीय जनजीवनसँगै विकसित हुँदै गएको कला राणाकालीन समयमा आउँदा अलि फरक देखियो । यस कालमा नेपाली कलाको इतिहासमै छायाचित्र बनाउने कला उत्कर्षमा पुगेको थियो । राणाले सिकार गर्दाका दृश्य र भ्रमण गर्दा देखेका दृश्य कलामार्फत चित्रमा उतार्न लगाउन थालेको पाइन्छ । प्रजातन्त्रको उदयसँगै कलामा पाश्चात्य संस्कृतिको प्रभाव देखा परेको कला समीक्षक बताउँछन् ।