• २१ वैशाख २०८१, शुक्रबार

सञ्चय कोषद्वारा मुनाफा वितरण

blog

काठमाडौँ, वैशाख ११ गते । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई मुनाफा वितरण गरेको छ । कोष सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृत गर्दै मुनाफा वितरण गर्ने निर्णय गरेको हो । 

कोषले सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई आव २०७९/८० को व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकममा १.१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाका रूपमा वितरण गरेको हो । निर्णय भएसँगै सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्ताको खातामा सो रकम जम्मा गरिएको कोषले जनाएको छ । 

कोषले आव २०७९/८० मा सञ्चयकर्तालाई कोष रकमको धितोमा प्रवाह भएको विशेष सापटीमा लगाउने ब्याज र कोष रकममा प्रदान गर्ने ब्याजदरमा १.१० प्रतिशतको फरक रहेकोमा यस मुनाफा वितरणपश्चात् सञ्चयकर्तालाई थप ब्याजको भार नपर्ने अवस्था हुन गएको छ । आव २०८०/८१ का लागि कोषमा रहेको रकममा ७.५ प्रतिशतका दरले ब्याजसमेत प्रदान भइरहेको छ । कोषको यो निर्णयसँगै सञ्चयकर्ताले आव २०८०/८१ को सुरु मौज्दातमा ८.६ प्रतिशतको दरले ब्याज प्राप्त गरेका छन् ।

कोषमा आव २०७९/८० को सुरु मौज्दात ४१६३६ करोड रहेकोमा सो रकमको आधारमा मुनाफा रकम वितरण भएसँगै ४५८ करोड रुपियाँ बराबरको रकम कार्यरत तथा पूर्वसञ्चयकर्ताको करिब आठ लाख ६० हजार खातामा जम्मा गरिएको छ ।

कोषले आफ्नै स्रोतबाट स्वास्थ्य उपचार सुविधा, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदानलगायतका सामाजिक सुरक्षा सुविधा प्रदान गर्दै आएको छ । कोषले प्रत्येक वर्षको मुनाफाको रकम सञ्चयकर्ताका लागि खडा गरिएका कोषमा जम्मा गरी यस प्रकारका योजना सञ्चालन गर्दै आएको छ । 

सामाजिक सुरक्षा योजना सञ्चालनका लागि यस वर्ष मुनाफाको १२ प्रतिशतले हुने रकम ७२ करोड २० लाख रुपियाँ  छुट्याइएको छ । कोषले आफ्ना सदस्यको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल कर्जा, जग्गा खरिद सापटी जस्ता सापटी सुविधासमेत कोषबाट उपलब्ध गराउँदै आएको छ ।