• २३ वैशाख २०८१, आइतबार

स्टार्टअप उद्यम कर्जाका लागि ३९४ परियोजना छनोट

blog

काठमाडौँ, वैशाख ११ गते । स्टार्टअप उद्यम कर्जाका लागि पहिलो चरणमा ३९४ परियोजना छनोटमा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले पहिलो चरणमा ३९४ परियोजना छनोट गरेको हो । 

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० बमोजिम प्रतिष्ठानले गत माघ १९ गते प्रस्ताव आह्वान गरेका प्रस्तावमध्ये योग्य प्रस्तावको सूचीमा परेको परियोजनाको नाम सार्वजनिक गरिएको हो । स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ६५८ वटा आवेदन परेका थिए । मूल्याङ्कन समितिले अध्ययनबाट गरेर ३९४ परियोजना  छनोटमा परेका हुन् । पहिलो चरणमा परेका प्रस्तावकले व्यावसायिक प्रस्तावको पेस गर्नुपर्ने छ । प्रस्तावकले व्यापारिक प्रस्तुतीकरण गर्दा संलग्नबमोजिम ढाँचामा केन्द्रित भई प्रस्तुतीकरण गर्नुपर्ने छ ।

पहिलो चरणमा छनोट भएका परियोजनालाई अर्को सातादेखि व्यापारिक प्रस्तुतीकरण गर्न आह्वान गरिएको छ । प्रस्तावकले प्रस्तुत गरेको व्यापारिक योजनाको आधारमा मूल्याङ्कन समितिको अध्ययन गरेर अन्तिम चरणको  सिफारिस गर्ने छ । 

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप उद्यम कर्जाका छनोट भएका प्रस्तावकलाई व्यापारिक योजना पेस गर्न आह्वान गरिएको जानकारी दिनुभयो । अर्को सातादेखि व्यापारिक योजना प्रस्तुतीकरण गरिने र त्यसका आधारमा उपयुक्त मापदण्ड पूरा गर्ने परियोजनालाई अन्तिम चरणमा छनोट गरिने उहाँले जानकारी दिनुभयो । अन्तिम चरणको छनोट सकेर जेठको पहिलो सातादेखि कर्जा वितरण प्रक्रिया सुरु गरिने उहाँले जानकारी दिनुभयो । 

एक हजार ६५८ वटा आवेदन परेकोमा पहिलो चरणमा ३९४ छनोट जानकारी दिनुभयो । कृषि, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा उद्यम गर्ने गरी धेरै आवेदन परेको उहाँको भनाइ छ । स्टार्टअप व्यवसाय दर्ता गर्ने निकायका रूपमा कानुनबमोजिम उद्योग विभाग, प्रदेश उद्योग दर्ता गर्ने निकाय र स्थानीय तहले काम सम्पादन गर्ने भएकाले उल्लेखित निकायबाट दर्ता भएका व्यवसायका निवेदन मात्र कर्जा प्रयोजनका लागि प्रक्रिया अगाडि बढाइने छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ बनाएर एक जनालाई तीन प्रतिशत ब्याजमा अधिकतम २५ लाख रुपियाँसम्म कर्जा प्रवाह गर्ने योजना बनाएको छ । दुई सय जनालाई कर्जा उपलबध गराउन सकिने गुप्ताले जानकारी दिनुभयो । नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका उद्यमीलाई तीन प्रतिशत ब्याजमा स्टार्टअप कर्जा उपलब्ध गराइने छ । परियोजना छनोट भएपछि तीन किस्तामा रकम दिइने छ । बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने कार्यविधिमा उल्लेख छ । कर्जाको सुरक्षणका लागि प्रतिष्ठानले प्रवाहित कर्जाको २५ प्रतिशत रकम स्वीकृत बजेटको सीमाभित्र रही स्टार्टअप उद्यम कर्जा सुरक्षण कोषमा राख्नुपर्ने व्यवस्था रहेको छ । 

राष्ट्रिय वाणिज्य बैङ्कमार्फत सो कर्जा उपलब्ध गराइने छ । स्टार्टअप उद्यमका क्षेत्रमा कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन प्रवर्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित रहेका छन् । यस्तै मानव स्वास्थ्य सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित, सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित, अटोमोबाइल, परम्परागत प्रविधि रहेको छ । 

यसै गरी खानी तथा खनिज अनुसन्धान र विकास, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपत् व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा समेत प्रस्ताव पेस गरिएको थियो । 

सरकारले गत आवको बजेटमार्फत स्टार्टअप उद्यम कर्जा कार्यक्रम ल्याए पनि कार्यान्वयनमा आउन सकेको थिएन । यो वर्ष मन्त्रालयले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० लाई संशोधन गरेर सो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो ।