• १२ साउन २०८१, शनिबार

विस्तार तथा स्तरोन्नति हुँदै नागढुङ्गा–मुग्लिन सडक

blog

भउचप्रसाद यादव

काठमाडौँ, वैशाख ६ गते  ।  सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिका लागि कम्पनी छनोट भएको छ । सो सडकको नागढुङ्गा–नौबिसेखण्डको विस्तारका लागि एम÷एस जियाङसु–सगुन  (संयुक्त) छनोट भएको 

हो । यस सडकखण्डको कुल लम्बाइ १२.२६ किलोमिटर छ । त्यसैगरी, नौबिसे–मलेखुखण्ड विस्तारका लागि शर्मा–लामा–जेडआईसीजी (संयुक्त) छनोट भएको नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । यस खण्डको कुल लम्बाइ ४३.५४२ किलोमिटर छ ।

मुलुकको करिब ६५ जिल्लाका मानिसको काठमाडौँ आवतजावत गर्ने मूल मार्ग यही नै हो । दैनिक करिब १८ देखि २० हजार सवारीसाधन आवातजावत  गर्छन् । सडक विस्तारका लागि यसअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) तयार भई स्वीकृत भइसकेको छ । आयोजनाका प्रमुख कार्कीका अनुसार नागढुङ्गा–नौबिसे खण्डक एक अर्ब ३१ करोड ८४ लाख र नौबिसे–मलेखुखण्डको एक अर्ब ३३ करोड १९ लाख रुपियाँमा विस्तार हुन लागेको हो । छनोट भएका निर्माण कम्पनीले तीन वर्षमा सडक विस्तारको काम सम्पन्न गर्नुपर्नेछ । नागढुङ्गा–नौबिसेखण्ड र नौबिसे–मलेखुखण्ड विस्तारका लागि क्रमशः ३१ र ३२ वटा निर्माण कम्पनीले आवेदन दिएका थिए ।

विस्तारका लागि राजमार्गको नागढुङ्गादेखि नौबिसेसम्म पहिलो खण्ड, नौबिसेदेखि मलेखुसम्म दोस्रो खण्ड र मलेखुदेखि मुग्लिनसम्मलाई तेस्रो खण्ड (४० किलोमिटर) का रूपमा छुट्ट्याइएको छ । तीनवटै खण्डको कुल लम्बाइ ९५ किलोमिटर छ । तेस्रो खण्ड विस्तारका लागि निर्माण कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको सडक विभागले जनाएको छ ।

विश्व बैङ्कको आर्थिक सहयोगमा यो राजमार्ग विस्तार भइरहेको छ । यसका लागि नेपाल सरकार र विश्व बैङ्कसँग सन् २०२० मा सम्झौता भएको थियो । योजना प्रमुख कार्कीले भौगोलिक विकटताका कारण राजमार्गको यस खण्डको विस्तारमा एकरूपता नुहुने स्पष्ट पार्दै विस्तारपछि पनि यो खण्ड चारदेखि छ लेनसम्मको हुने बताउनुभयो । 

परामर्शदाता छनोट

त्यसैगरी, यो राजमार्ग विस्तारका लागि सडक विभागले आठ वर्षका लागि चारवटा परामर्शदाता कम्पनी छनोट गरेको छ । योजना प्रमुख कार्कीका अनुसार एम÷एस एसएपईसी इन्टरनेसनल पीटीवाई लिमिटेड अस्ट्रेलियन र प्युङघवा इन्जिनियरिङ कन्सल्टट्यान्टस् लिमिटेड कोरिया तथा नेपाली परामर्शदाता कम्पनी इटेको र टीएमएस रहेका छन् ।