• १२ साउन २०८१, शनिबार

भासिएको सडक निर्माण सम्पन्न हुँदै

blog

शालिग्राम नेपाल 

चितवन, वैशाख ६ गते । नारायणगढ–मुग्लिन सडकको १७ किलोमा भाँसिएको सडक तीन वर्षपछि निर्माण कार्य पूरा हुने चरणमा पुगेको छ । सडक निर्माण पूरा भएलगत्तैको वर्षात्को समयमा मुग्लिन–नारायणगढ सडकको सत्र किलोमा ६० मिटर सडक भासिएको थियो । सडक भासिएपछि पहाडको भित्तातर्फ सवारी साधन चलाउन मिल्नेगरी एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको थियो ।

निर्माण कम्पनीले त्रिशूली नदीको भागदेखि एङ्करिङ प्रविधिको माध्यमबाट सडक निर्माण गरेको मुग्लिन नारायणगढ सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । “यो सडक निर्माणको क्रममा पहिला पनि यस स्थानमा भासिने गरेको थियो,” कार्कीले भन्नुभयो “नयाँ प्रविधिबाट निर्माणको काम भएकाले अब समस्या आउँदैन ।” 

त्रिशूली नदीको पानीको दबाबले सडकको भित्तामा असर गरेर भासिएको र त्यो समस्या समाधानको उपाय गरेर तलैदेखि पर्खाल लगाएर काम गरेको उहाँले जानकारी दिनुभयो । “यस स्थानमा १५ वर्षअगाडि भासिएर सडक निर्माण गरिएको थियो,” कार्कीले भन्नुभयो, “स्थायी समाधानका उपाय गरेका छौँ, अबको एक महिनाभित्र कालोपत्रे सम्पन्न हुन्छ ।” 

दुई वर्षअगाडिबाट निर्माणको ठेक्का पाएर काम थालनी गरे पनि समयमा काम नसकिएको, माथिबाट पहिरो र तलबाट त्रिशूली नदीको कटानको कारण यहाँ सडक भासिएको कार्यालले जनाएको छ । अहिले सडक सम्याउने र ग्राभेल थिच्ने काम भइरहेको र वैशाख महिनाभित्रमा कालोपत्रे सम्पन्न गर्ने तयारी भएको कार्कीले जानकारी दिनुभयो । योसँगै सोही सडकको २६ किलोमा पनि सडक भासिएको थियो । यहाँको काम पनि अन्तिम चरणमा पुगेको छ । दुई स्थानमा गरी ११ करोड रुपियाँको लागतमा निर्माण भएको सडकको काम सकिएपछि सवारी चापका कारण अवरुद्ध हुने समस्या हटेर जाने कार्यालयले जनाएको छ । 

कडा चट्टानी पहाड, त्रिशूली नदीको कटानको कारण मुग्लिन–नारायणगढ सडकका आधा दर्जन स्थानमा सडक भासिँदा एङ्करिङ प्रविधिद्वारा मर्मत गरिएको छ । अहिले मर्मत गरिएको स्थानमा कालोपत्रे पूरा भएपछि ११ मिटर चौडा फराकिलो सडक हुने कार्यालयले जानकारी दिएको छ ।