• २१ वैशाख २०८१, शुक्रबार

रातु तटमा पक्की कुलो बन्ने भएपछि किसान खुशी

blog

बर्दीबास ३ रातु खोलास्थित पक्की कुलो शिलन्यास कार्यक्रममा सहभागी वडाध्यक्षसहित स्थानीय किसान। तस्बिरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, वैशाख ८ गते। बर्दिबास ३ स्थित रातु खोलाको तटवर्ती क्षेत्रमा सिंचाई कुलो निर्माण हुने भएको छ। मधेश प्रदेश सिंचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण हुने कुलोको वडाध्यक्ष विराट विस्टले किसानको सहभागितामा शिलान्यास गर्नुभयो।  

लामो प्रतिक्षापछि रातुको पश्चिमी तटमा पक्की कुलो बन्ने सुनिश्चित भएपछि यहाँका किसानमा खुसियाली छाएको छ। बर्दिबास ३ निवासी तथा किसान महासंघका केन्द्रीय सदस्य ललित बुढाथोकीका अनुसार रातुको पश्चिमी तटमा १५० किसान परिवारका ९६ बिघा जग्गा छन्। पक्की कुलो नहुँदा छेउबाटै बगेर जाने पानीलाई सिंचाईका लागि उपयोग गर्न समस्या थियो। किसानले अस्थायी बाँध बाँधेर जसोतसो काम चलाए पनि त्यो भरपर्दो र टिकाउ थिएन।     

पटक पटक बाँध भत्कने समस्याले किसान हैरान थिए। पक्की कुलो निर्माण हुने भएपछि सिंचाई समस्या सदाका लागि टरेर जाने अपेक्षा जगाएको बुढाथोकीले जनाउनुभयो।  

उक्त कुलोको अध्यक्ष तथा पुराना कृषक देवीप्रसाद देवकोटाकाअनुसार पक्की कुलो यहाँका किसानको पुरानो सपना थियो। किसानले लामो समयदेखि यसको आवश्यकता औंल्याउदै आए पनि यसअघि कसैले सुनुवाइ नगरेको उहाँले विगत सम्झनुभयो। 

वडाध्यक्ष विराट विस्टले रातुको पश्चिमी तटका जग्गामा सिंचाईका लागि कुलो बन्न लागेको बताउनुभयो। उपासना कंट्रकसनले आठ करोडमा ठेक्कासमेत सकार गरिसकेकोले निर्धारित समयमै निर्माण सम्पन्न हुने प्रकृया अघि बढाइएको वडाध्यक्ष विस्टले बताउनुभयो।