• २१ वैशाख २०८१, शुक्रबार

मह उत्पादनमा कमी हुँदै

blog

बर्दीबासको बुद्धचोकस्थित भिक्सको जङ्गलनजिक राखिएको माहुरीको घारबाट मह निकाल्दै मह कृषक । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीबास, वैशाख ८ गते । 
यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, सिकारी चराको प्रकोप र रोगव्याधीका कारण मह उत्पादन अनपेक्षित रुपले घटेको हो ।

चौतर्फी व्यवधान आइलागेपछि माहुरी कृषक समय अगावै घर फर्कनु भएको छ । चितौनको खैरेनीबाट मेलिफेरा जातका माहुरीका घार लिएर आगन्तुक मह कृषक हरेक वर्ष फागुन महिनातिर महोत्तरीको जङ्गली क्षेत्रमा आउने गर्छन् ।

वसन्त ऋतुसँगै महोत्तरीको जङ्गलमा भिक्स (युक्लिप्टस), रुदिलो, जामुनो, क्यामुनो, वाँझी, साखु, गुम्वा, सिसौ जस्ता अनेकन वनसपतिमा फूल फुल्ने हुँदा मह उत्पादनका लागि उर्वरक मानिन्छ । अर्कोतर्फ फागुन महिनादेखि मधेशका गाउँघरमा लिची र सहिजनका बोट पनि फूल्ने भएकाले मह कृषकको आकर्षण बढेको हो ।


यी जङ्गली फूलबाट करोडौं मूल्य बराबरको मह उत्पादन हुने भएकाले मह कृषकहरु २०६४ सालदेखि माहुरी चराउन महोत्तरी आउने गरेका हुन् ।

योपटक चितौनबाट एक हजार आठ सय महुरीको गोला लिएर २० जना कृषक महोत्तरीको जङ्गल झरेको खैरिनीका मह कृषक सुरेश बस्नेत बताउनुहुन्छ ।

उहाँका अनुसार विगत वर्षको उत्पादन आधारमा यो वर्ष महोत्तरीको जङ्गलबाट एक हजार आठ सय गोलाबाट दुई करोड १६ लाख मूल्य बराबरका करिव ४३ हजार दुई सय किलो मह उत्पादन हुने लक्ष्य थियो । लक्ष्यको तुलनामा उत्पादन भने १८ हजार किलोमा सिमित भएको उहाँले बताउनु भयो ।

‘थोक मूल्य प्रति किलो पाँच सय रुपियाँको दरले यो उत्पादन ९० लाख रुपियाँ बराबरको मात्र हो’’ बस्नेतले भन्नुभयो, ‘‘उत्पादन घट्दा हामीले एक करोड २६ लाख रुपियाँ बराबरको घाटा ब्यहोर्नु पर्‍यो ।’’

गत वर्ष ११७ घार माहुरीबाट १५ क्वीन्टल बराबर ५० बाल्टिन मह सङ्कलन भएको बस्नेतले विगत सम्झनुभयो । योपटक १९२ घार माहुरी ल्याउँदा पनि यही जङ्गलबाट उत्पादन भने २५ बाल्टिन अर्थात् साढे सात क्वीन्टल मात्र भएको दुखेसो गर्नु भयो ।

माहरी कृषहरुका अनुसार सुरुमा वन डढेलोले फुलका रस (नेक्टर) सुकाउदा मह उत्पादन प्रभावित भयो । त्यसपछि लगातार दुई तीन पटक पानी परेकाले माहुरीले मनलाग्दी चर्न पाएनन् र उत्पादन घट्यो ।