• १२ पुस २०८१, शुक्रबार

आमाको मन (कविता)

blog

छोरा हुर्केपछि

दुःख गरेर जोडेको खेतबारी 

खनजोत गरिदिन्छ

हली र खेताला खोज्नु पर्दैन

भन्ने आशा थियो होला

मेरी आमालाई ।


बाँच्दा छरछिमेकीको जन्ती गइदिन्छ

मर्दा मलामी पनि भइदिन्छ 

भन्ने पनि आशा थियो होला

मेरी आमालाई ।


तर म

खेतबारी बाँझै छाडेर

बुढी आमालाई एक्लो पारेर

अरबको तातो हावा खाँदै छु । 


मैले आइएमई गरेर 

पठाएको घरखर्चले 

खडेरी लागेर चिरा परेको बाँझो खेत 

खेताला लाएर जोताउनु भएछ

तर

मैले पठाएको पैसाले

चिरा परेको आमाको मन भने

टाल्न सकेन । 


नब्बे सालको भूकम्पले 

हल्लाउन नसकेको 

त्यो पुरानो घुमाउने घर

हिउँदमा सालसालै खरले छाउनु पर्छ

छोरा हुर्केपछि 

समयमै छानो छाउला 

भन्ने पनि आशा थियो कि

तर म

चुहिने छानो टाल्न छाडेर

बुढी आमालाई एक्लो राखेर

मरुभूमिमा पसिना चुहाउँदै छु ।


संँगै बस्ने डाँडाघरे काइला गाउँ फिर्दा

बुढीआमालाई घरखर्च पठाएको थिएँ 

छिमेकी गुहारेर

चुहिने छानो त टाल्नु भएछ

तर 

मैले पठाएको पैसाले 

चुहिएको आमाको मन भने

टाल्न सकेन । 


नेर्पा, खोटाङ