• २१ वैशाख २०८१, शुक्रबार

स्वास्थ्यको समृद्धका लागि दक्ष जनशक्ति आवश्यक : स्वास्थमन्त्री पुन

blog

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन ‘सिजल’।

लिलाधर वली

घोराही, वैशाख ७ गते। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन ‘सिजल’ ले स्वास्थ्यको समृद्धका लागि दक्ष जनशक्ति निर्माण गर्नुपर्ने  बताउनुभएको छ। 

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीको स्वागत तथा अध्ययन कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले स्वास्थ्य क्षेत्रको विकासका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताउनुभएको हो। स्वास्थ्य क्षेत्रको समृद्धि बिना अन्य क्षेत्रको विकास हुन नसक्ने भन्दै मन्त्री पुनले स्वास्थ्य क्षेत्रको विकासका लागि राज्यले लगानी बढाउनु आवश्यक रहेको बताउनुभएको थियो। 

मन्त्री पुनले भन्नुभयो,‘देशको समृद्धिका लागि स्वास्थ्य क्षेत्रको विकास गरेर स्वदेशमै दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ। त्यसका लागि सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै आफ्नै ठाउँमा उच्चस्तरसम्म अध्ययन गर्ने बातावरण निर्माण गर्नुपर्छ।’ स्वास्थ्य क्षेत्रको लगानीले स्वदेशमै दक्ष जनशक्ति उत्पादनसँगै बाहिर जाने ठुलो रकम बच्ने बताउनुभएको थियो। 

आफ्नै ठाउँमा नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने बातावरण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा प्रारम्भ गरेको भन्दै मन्त्री पुनले प्रतिष्ठानको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको थियो।  मन्त्री पुनले आफ्नो कार्यकालमा प्रदेशवासी जनताले सधैभरी सम्झने गरि विकास गर्ने समेत बताउनुभएको थियो। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले प्रतिष्ठानले स्नातकोत्तर तह अध्ययन नयाँ कार्यक्रम सुरु गरेको भन्दै यो कार्यक्रमलाई अघि बढाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको थियो।