विजयकुमार साह
ढल्केबर, वैशाख ५ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१०, हारसरमा बनेको प्रकृतिमैत्री बाँसघर ओझेलमा परेको छ । डेनमार्कको दातृ संस्था डानिडाको सहयोगमा चुरे जलाधार संरक्षणको क्षेत्रमा काम गर्दैआएका जीवन केन्द्र धनुषाले सन् २०१० मा बाँसैबाँसको प्रयोग गरेर निर्माण गरिएको प्रकृतिमैत्री बाँसघर उचित स्याहार र ठाउँको बारेमा प्रचारप्रसार नहुँदा ओझेलमा परेका हुन् ।
ढल्केवर–जनकपुर सडक खण्डको रमदैया चोकबाट करिब डेढ किलोमिटर पूर्वमा पर्ने हारसरमा नेपालमा बन्ने परम्परागत तथा आधुनिक घरभन्दा बाँसको प्रयोगबाट भिन्न शैलीमा अति आकर्षक घरहरू बनाइएका छन् । संस्थाले सो घर तालिम केन्द्रको रूपमा निर्माण गरेको भएपनि बाँसैबाँसको प्रयोगबाट घर बनेकाले यसलाई बाँसघरको नामले पनि चिन्ने गरिएको स्थानीयको भनाइ छ ।
जीवन केन्द्रका अध्यक्ष कारी यादवले करिब डेढ बिघा क्षेत्रफलमा रहेको तालिम केन्द्रमा आवास, तालिम हल, चमेना गृह, शौचालय, स्नानगृहलगायत सम्पूर्ण संरचना बाँसकै प्रयोगबाट निर्माण गरिएको छ भने भित्ता माटो र बालुवाको मिश्रणले निर्माण गरिएको बताउनुभयो । धुरीखाँबो, बेरा र छानामासमेत बाँसकै प्रयोग गरिएको छ । यहाँ करिब १५० जना अटने तालिम हल र त्यति नै सङ्ख्यालाई पुग्ने गरी आवास क्षमताको घरहरू रहेको जानकारी दिनुभयो । अध्यक्ष यादवले पहिलो पटक यहाँ आउनेहरू आश्चर्य चकित हुँदै कसरी बाँसैबासले घर निर्माण गरिएको होला भनेर सोधिखोजी गर्ने गरिएको बताउनुभयो ।
जीवन केन्द्रका संस्थापक अध्यक्ष एवं मधेश सरकारका पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्राकृतिक स्रोतमाथिको दोहन रोक्न नमुनाको रूपमा स्थानीय स्तरमा उपलब्ध बाँस र माटोको प्रयोगले प्रकृतिमैत्री तालिम केन्द्र निर्माण गरिएको बताउनुभयो । प्रशोधन गरिएको उन्नत जातको बाँस प्रयोग गरिएकाले निर्माणको १४ वर्ष भइसक्दा पनि संरचना दुरुस्त रहेको बताउँदै उहाँले अझै २०-४० वर्ष टिक्ने जानकारी दिनुभयो ।
“सुरुको समयमा तालिम, गोष्ठी आयोजना गर्न तथा संरचना हेर्न आउने मानिसको भिड लाग्ने गर्दथ्यो । केही वर्षयता व्यवस्थापन समितिको कमजोर व्यवस्थानले यहाँ कम सङ्ख्यामा मानिस आउने गरेको भएपनि अब पुनः कम्मर कसेर यस ठाउँलाई पर्यटन क्षेत्रको रूपमा विकास गरेर प्रचारप्रसारमा ल्याउँछौँ,” पूर्वमन्त्री यादवले भन्नुभयो ।
संस्थाका संस्थापक महासचिव एवं सामुदायिक वन उपभोक्ता महासङ्घ मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले घरलगायतका संरचना निर्माणमा कङ्क्रिट र काठ प्रयोगको विकल्पमा बाँसको उपयोग बढाउने उद्देश्यले उदाहरणका लागि तालिम केन्द्रमा निर्माण गरिएको संरचनामा बाँसको प्रयोग गरिएको बताउनुभयो ।
“कङ्क्रिट र काठको संरचना निर्माण गर्दा गिट्टी, बालुवा र काठको प्रयोग गरिन्छ । जसले गर्दा नदी तथा जङ्गलजस्ता प्राकृतिक स्रोतको दोहन भइरहेको छ । त्यसलाई रोक्नका निम्ति पनि संरचना निर्माणमा बाँसको उपयोग बढाउँदै लैजानुपर्छ”, उहाँले भन्नुभयो ।