• २० वैशाख २०८१, बिहिबार

जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न

blog

कार्यक्रमको उद्घाटन गर्नुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलगायत ।

काठमाडौं, वैशाख १ गते। जनकपुरधाममा सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ। भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास र बिपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर शनिबार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको हो। 

जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना भएको थियो। महोत्सव जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा दुई सत्रमा विभाजन गरेर आयोजना गरिएको हो। 

कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’ मा महत्त्वपूर्ण व्याख्यान प्रस्तुत गर्नुभयो। कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिबलसमेत समावेश गरिएको थियो। 

कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले राम र सीताको जीवनीमा आधारित भजनको साङ्गीतिक प्रस्तुति गर्नुभयो। दोस्रो सत्रको विशेष आकर्षण गायिका मेनुका पौडेलको प्रस्तुति थियो। 



मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्सवको पहिलो सत्रको उद्घाटन गर्नुभएको हो। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। 

महोत्सवमा मधेश प्रदेशका प्रदेश सभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीको सहभागिता थियो। दुई देशका कला, संस्कृति तथा चाडपर्वको साझा परम्परामा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणले मनाएको हो।