• २० वैशाख २०८१, बिहिबार

उत्साहका साथ मनाइँदै चैती छठ

blog

सञ्जय कुमार मिश्र
गौर, वैशाख १ गते । श्रद्धा, भक्ति एवम् धार्मिक सहिष्णुताको रूपमा रहेको चैती छठ  पर्व रौतहट जिल्लामा अत्यन्त उत्साह र महत्त्वका साथ मनाउन लागिएको छ ।

विगतभन्दा अहिले चैती छठ पर्व गर्ने व्रतालुको सङ्ख्या बढेसँगै कात्तिक महिनामा मनाइने छठ पर्व जस्तै चैती छठ पनि अत्यन्त उत्साह र महत्त्वका साथ मनाउन लागिएको हो ।

शुद्धता र आपसी सदभावको रूपमा चैती छठ पर्व मनाउनका लागि व्रतालु तयारीमा जुटेका छन् । छठ पर्वका पहिलो दिन शुक्रबार नुहाइ धुवाइ चोखो खाना खाई मनाइएको छ । त्यस्तै दोस्रो दिन अर्थात् शनिबार बेलुका सख्खर हालेको खिर, पुरी, केरा लगायतका प्रसाद चढाएर पूजा गरी त्यही प्रसाद खाएर व्रत बसी आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ पर्व सम्पन्न हुने व्रतालु मिथिलेश देवीले बताउनुभयो ।

छठ पर्वको प्रसादका रूपमा केरा, सुन्तला, नरिवल, अदुवा, गहुँको पिठोले बनाइएको ठकुवा, उखुलगायतका प्रसाद बासले बनेको छिटा, दौरा, सुप तथा माटोले बनेको हात्ती, ढकना, दियो र कलश लगायत पूजा सामग्रीको प्रयोग गरिन्छ । जसलाई शुद्धताको प्रतीकको रूपमा लिने गरिएको व्रतालु मिथलेब देवीले बताउनुहुन्छ ।

छठ पर्व वर्षमा दुई पटक काञ्कि र चैत महिनामा मनाउँदै आइरहेका तथा छठ पर्व गर्नाले घरमा सुख शान्ति तथा चर्मरोग निको हुने धार्मिक विश्वास रहेको पण्डित जिवनेश्वर झाले बताउनुभयो । छठ पर्वमा सूर्यदेवको पूजा आराधना गर्नाले आपसी सदभाव र प्रेमका रूपमा पनि लिने गरिएको छ ।