• २१ वैशाख २०८१, शुक्रबार

ठेक्का लागेको तार्कु खोलामा छ वर्षपछि पुल

blog

ढलान कार्य पुरा भएको तार्कु खोलाको पक्की पुल । तस्बिर: राजन रावत

हुम्ला, वैशाख १ गते । सिमकोट सडकको तार्कु खोलामा साँढे छ महिनापछि पक्की पुलको ढलान कार्य भएको छ । हिल्सा सिमकोट सडक आयोजनाको पटक पटकको ताकेता पछि निर्माण कम्पनीले यति बेला सो पुलको ढलान कार्य सम्पन्न गरेको हो । 

आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले निक्कै ताकेता पछि तार्कु खोलाको पक्की पुलको ढलान कार्य पुरा भएपछि सो पुलको ७५ प्रतिशत भौतिक प्रगति पुरा भएको बताउनुभयो । उहाँले पुलको महत्त्वपूर्ण कार्य ढलानको काम सम्पन्न भई सकेको कारण अब बाँकी पच्चीस प्रतिशत कार्य एक डेढ महिनामा सम्पन्न हुने बताउनुभयो । निर्माण कम्पनीले पुलको एप्रोन सल्याव र रेलिङ निर्माण कार्य मात्र बाँकी रहेको र त्यो पनि तत्काल निर्माण कार्य अगाडी बढाउन निर्माण कम्पनीलाई परिपत्र गरिएको उहाँले बताउनुभयो ।

निर्माण कम्पनी सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि लंकबहादुर शाहीले अब चाँडै बाँकी काम सम्पन्न गर्ने बताउनुभयो । तीन महिना लगाएर पुलको ढलान कार्य  भएकोले अब बाँकी काम पनि चाँडै सुरु गरिने शाहीले बताउनुभयो । २०७४ साल साउन ६ गते आयोजनाले २०७६ साल साउन १५ गते सम्पन्न गर्ने गरी सपना धुलिखेल जेभीसंग सम्झौता गरेको थियो । पछिल्लो पटक २०८० साल असार ३० गते काम सम्पन्न गर्ने गरी पुल निर्माण कार्यमा म्याद थप गरिएको थियो । पटक पटक गरी आयोजनाले सो पुल निर्माणका लागि चार पटक म्याद थप गरिएको थियो ।

पुल निर्माणका लागि दश करोड ५७ लाख ५९ हजार ३६८ रुपियाँ लागत लाग्ने गरी आयोजनाले निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । हालसम्म पाँच करोड २८ लाख रुपियाँ निर्माण कम्पनीले भुक्तानी लिई सकेको छ । वित्तीय प्रगति भने पचास प्रतिशत मात्र भएको पाइएको छ ।

यसअघि सल्ली खोलाको पुल निर्माण कार्य पुरा भई सकेको छ । अब हेक्पा खोला र याङ्गार खोलाको पुल निर्माण कार्य भने बाँकी रहेको र ती दुवै पुल पनि असारसम्म सम्पन्न हुने आयोजनाले जनाएको छ । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।