वीरगन्ज समाचारदाता
वीरगन्ज, चैत २९ गते । जिल्ला अदालत पर्साले वीरगन्जको भेडियाहीमा रहेको नेसनल मेडिकल कलेजका निर्देशक साहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । गत सोमबार पक्राउ परेका दुवै जनामाथि अदालतले अनुसन्धान गर्न पहिलो पटक दुई दिन म्याद दिएकोमा बुधबार दोस्रो पटक थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
वीरगन्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय पर्सा, वाणिज्य कार्यालय पर्सा र वीरगन्जस्थित औषधी व्यवस्था विभागको संयुक्त अनुगमन टोलीले अस्पतालको सोमबार ल्याबमा छापामारी गरी म्याद नाघेका औषधी तथा केमिकल (रसायन) फेला परेपछि प्रहरीले कलेजका प्रबन्ध निर्देशक (एमडी) अन्सारी र ल्याब प्रमुख साहलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूविरुद्ध कालोबजारी तथा सामाजिक अपराध मुद्दामा म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लगेलगत्तै ब्लडप्रेसर बढेको र पखाला लागेको जनाएपछि पक्राउ परेका दुवै जनालाई नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
नारायणी अस्पतालबाट सोमबार राति नै वीरगन्जको सुविधायुक्त नारायणी वयोधा अस्पताल गण्डकमा लगिएको थियो भने मङ्गलबार वीरगन्ज हेल्थकेयर अस्पतालको सघन उपचार कक्षामा उपचार भइरहेको जनाइएको छ । नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको ब्लक ‘ए’ मा रहेको मुख्य प्रयोगशाला (ल्याब) मा सन् २०२१ र २०२२ सम्मको म्याद रहेको केमिकल (औषधी) फेला परेको अनुगमन टोलीले जनाएको छ ।