• २१ वैशाख २०८१, शुक्रबार

चैते दसैँमा गहवामाईको डोलीयात्रा हुने

blog

डोलीयात्राका लागि गरिएको तयारी ।

कन्हैयालाल केशरी

पर्सा, चैत २८ गते । चैते दसैँमा वीरगन्जमा पहिलो पटक गहवामा मन्दिर परिसरबाट गहवामाको निसान (ध्वजा) सहितको डोलीयात्रा निस्कने भएको छ ।

महाअष्टमीका दिन वैशाख ४ गते सो डोलीयात्रा निस्कने बताइएको छ । गहवामा मन्दिर वीरगन्जका लागि मात्र नभ समग्र मधेश प्रदेशसँगै छिमेकी मुलुक भारतको बिहारका दर्शनार्थीको आस्थाको केन्द्र र शक्तिपीठको रुपमा रहेकाले गहवामाको प्रेरणाबाट डोलीयात्राको शुभारम्भ यस वर्षदेखि मास्थान मन्दिर सञ्चालक समितिले गर्न लागेको समितिका अध्यक्ष नरेन्द्र साहले बताउनुभयो । 

उहाँले असोजमा हुने दसैँको आफ्नै विशेष महत्व र धार्मिक महत्व र परम्परा छ, मुलुकभरि भब्यताका साथ मनाउने गरिन्छ । चैतेदसैँको पनि मधेश प्रदेशमा आफनै महत्व रहेकाले चैतेदसैँलाई भब्य बनाउन डोलीयात्राको आयोजना गरिएको छ ।

शक्तिपीठको रुपमा गहवामाइको पहिचान मुलुकभरि भएकाले दसैँ नयाँ वर्ष र अन्य धार्मिक उत्सव बाहेक दैनिक दुईदेखि तीन हजारको हाराहारीमा दर्शनार्थीहरु गहवामाको दर्शन तथा पूजापाठ र भाकलअनुसारको प्रसाद चढाउने गरेको बताउनुभयो । 

मास्थान मन्दिर सञ्चालक समितिका सचिव कन्हैयालाल केशरीले निसानसहितको डोलीयात्रामा लगभग दश हजारभन्दा बढीको सहभागिता हुने आँकलन गरिएको छ । गहवामाको नगर परिक्रमा गराएमा नगरवासीको सुखशान्ति, समृद्धि प्राप्त हुने जनविश्वास रहेकाले अपेक्षा गरिएभन्दा पनि बढी भक्तजन र माताका श्रद्धालुहरुको उपस्थिति हुनसक्ने बताउनुभयो । 

बिरगन्ज महानगरपालिकाका नगर प्रमुख गहवामा मन्दिर वीरगन्जबासीको धरोहरको रुपमा रहेकाले मन्दिरको सौन्दर्यकरण गर्ने काम चरणबद्ध रुपमा भइरहेको जानकारी दिंदै अहिले जोसुकै भक्तजन मन्दिरमा जादाँ सोको अनुभूति गर्नसक्ने दाबी गर्नुभयो ।  

मन्दिरका मूल पुरोहित राधेश्याम उपाध्यायले डोली तथा निसान पूजाको शुभसाइत वैशाख ४ गते दिउँसो २ बजे र डोलीयात्राको साइत अपरान्ह ४ बजे रहेको जानकारी दिनुभयो ।