• २० वैशाख २०८१, बिहिबार

गहुँ बाली भित्र्याउने चटारो

blog

सर्लाही समाचारदाता

सर्लाही, चैत २८ गते । सर्लाहीसहित तराई क्षेत्रका किसानलाई गहुँ बाली भित्र्याउने चटारो परेको छ । यहाँका किसानले अहिले आआफ्ना खेतमा पाकेर भित्र्याउने बेला भएको गहुँ बाली धमाधम काटेर थे्रेसर लगाइरहेका छन् । यो वर्ष गहुँको उत्पादन भने राम्रो नरहेको किसानको भनाइ छ । धनकौल गाउँपालिका–५ का किसान अनुठा राउत कुर्मीले केही दिनदेखि सुक्खा हावा धेरै चलेकाले गहुँ बाली चाँडै पाकेको बताउनुभयो । उहाँले भन्नुभयो, “गहुँ रोपेपछि पानी पर्नै सकेन । त्यसैले पनि उत्पादन राम्रो हुन नसकेको हो । फलेको गहुँ पनि मुसाले खाएर धेरै क्षति गर्न थालेपछि किसानले भ्याइनभ्याइ गरेर भित्र्याइरहेका छन् ।” यहाँका प्रत्येक खेतीयोग्य फाँटमा गहुँ काट्ने मजदुर र किसान व्यस्त देखिन्छन् । केही किसानले गहुँ काट्न मेसिन प्रयोग गर्न थालेका छन् तर सबै किसानको पहुँचमा मेसिन पुग्न सकेको छैन । 

अधिकांश किसानले आफँै तथा कतिपयले मजदुर लगाएर गहुँ काट्ने गरेका छन् । गहुँ झार्न भने किसानको खेत खेतमै थे्रसर पुग्ने गरेको छ । 

सर्लाहीमा २४ हजार हेक्टरमा गहुँ खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ । कार्यालयका निमित्त प्रमुख देवानन्द रायले २० वटै पालिकामा धमाधम गहुँ भित्र्याउने क्रम चलिरहेकाले उत्पादन परिमाण प्राप्त हुन बाँकी रहेको बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख रायले भन्नुभयो, “अहिले सबै भागका किसानले धमाधम गहुँ  भित्र्याइरहेका छन् । के कति परिमाणमा उत्पादन भयो भन्ने विवरण पालिकाको कृषि शाखाले पठाइसकेका छैनन् ।” जिल्लामा अघिल्ला वर्षहरूमा वार्षिक ६० देखि ६५ हजार मेट्रिक टन गहुँ उत्पादन हुने गरेको थियो ।