• २१ वैशाख २०८१, शुक्रबार

दाना नलागेको मकैबारे अनुसन्धान गर्दै विज्ञ टोली

blog

सर्लाही समाचारदाता

सर्लाही, चैत २८ गते । सर्लाहीको बागमती र बरहथवाका किसानले लगाएको वर्णशङ्कर अर्थात् हाइब्रिड मकैमा दाना नलागेको सम्बन्धमा अनुगमन गर्न विज्ञसहितको टोली सर्लाही आइपुगेको छ ।

सर्लाहीसहित तराईका विभिन्न जिल्लाका किसानले लगाएको मकैको घोगामा दाना नलागेको पाइएपछि बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रले राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा. भीमनाथ अधिकारीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । 

सो कार्यदलले मङ्गलबारदेखि अनुसन्धान सुरु गरिसकेको छ । सोमबार बेलुका सर्लाही आइपुगेको टोलीले मङ्गलबारदेखि बागमती र बरहथवा नगरपालिकाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीको स्थलगत अनुगमन गरी अनुसन्धान सुरु गरेको हो । 

सर्लाहीका यी दुई पालिकाका अधिकांश किसानले रोपेको भारतीय बिउ उत्पादक कम्पनी ‘नुजिभिडु सिड्स’ द्वारा उत्पादित आठ हजार ३५२ जातको हाइब्रिड मकैमा दाना नलाग्ने समस्या धेरै देखिएको छ । स्थानीय किसानले ‘उइनर’ समेत भन्ने यो जातको मकैको बिउ गाउँकै सहकारी र विभिन्न एग्रोभेट पसलबाट किनेर रोपेका थिए । 

कार्यदलमा रहेका विज्ञले किसानको खेतमा पुगेर अनुगमन गरेपछि केही दिनपछि प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम सर्लाहीका प्रमुख रामबलम साहले जानकारी दिनुभयो । “मकैमा दाना नलाग्नुका कारण पत्ता लगाउन माटो, बिउ, सिँचाइ, रोग किरा र मौसम सबैको विज्ञहरूबाट अनुगमन हुन्छ,” प्रमुख साहले भन्नुभयो, “सबै कोणबाट अनुसन्धान गरेपछि मात्रै दुई/चार दिनपछि मकै बालीमा दाना नलाग्नुका कारणसहित प्रतिवेदन सार्वजनिक गछौँ ।”

विज्ञ सम्मेलित कार्यदललाई प्रभावित क्षेत्रमा निरीक्षण एवं छलफल गर्ने, मकैको जात, क्षेत्रफल, प्रभावित किसानको विवरण, बिउ बिक्रेता तथा आयातकर्ताको विवरण सङ्कलन गर्ने, प्राविधिक राय पेस गर्ने, बिउको जातीय शुद्धता पहिचान गर्ने जिम्मेवारी दिइएको छ । आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको मकै बालीमा दाना नै नलागेर थोते घोगा लाग्दा किसान चिन्तित बनेका छन् । 

मङ्सिर लागेपछि रोपेको मकैमा दाना लागे पनि त्योभन्दा अगाडि कात्तिकमै रोपेको मकैमा दाना नलाग्ने समस्या धेरै देखिएको किसानले बताएका छन् ।  

कार्यदलको सदस्यमा मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका वैज्ञानिक डा. महेन्द्रप्रसाद त्रिपाठी, राष्ट्रिय बाली प्रजनन केन्द्र खुमलटारका डा. उज्ज्वलकुमार सिंह कुशवाहा, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका बाली विकास अधिकृत नवराज जोशी, मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि, कृषि ज्ञान केन्द्रका प्रतिनिधि रहेका छन् । त्यस्तै बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका डा. प्रकाश आचार्य सदस्यसचिव रहनुभएको छ ।