• १७ जेठ २०८१, बिहिबार

डढेलोले जीवजन्तु असुरक्षित

blog

काठमाडौँ, चैत २८ गते । चितवन राष्ट्रिय निकुञ्जका खरमजुरका बचेरा र अन्डा डढेलोको सिकार बनेका छन् । खडेरीका कारण डढेलो लाग्न थालेपछि अन्डा, बच्चा र माउ सखाप हुने वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो । 

“निकुञ्जभरि आगो लाग्ने र चराले बचेरा कोरल्ने समय एउटै पर्छ, त्यसैले ठुलो क्षति हुन्छ,” उहाँले भन्नुभयो । रुखको टुप्पामा बस्नेभन्दा बुट्यान र झाडीमा बस्ने चरा डढेलोले बढी प्रभावित हुन्छन् । लजालु चरा खरमजुरले आगो लागेर छेउमै आइपुग्दा पनि गुँड छाड्न मान्दैन । अन्तिम अवस्थामा मात्र उड्न खोज्छ । घाँसे मैदानमा रहने हुनाले डढेलोमा बचेरा र अन्डा बच्ने सम्भावना रहँदैन । अन्डाबाट निस्केलगत्तै बचेरा हिँड्न थाल्छन् तर प्वाँख नपलाएकाले उड्न सक्दैनन् । 

डा. बरालले कोशी, बर्दिया, चितवन र शुल्काफाँटामा पाइने लोपोन्मुख प्रजातिको खरमजुरको सङ्ख्या डढेलोकै कारण ४० वर्षयता नेपालमा घट्दो क्रममा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार खरमजुरसहित ८० प्रतिशत रैथाने चराले बचेरा कोरल्ने समयमा डढेलो बढेको छ । उहाँले बसाइँ सरेर नेपाल आएका चरा बच्चा कोरल्न व्यस्त रहेका बेला डढेलो लागेकाले तिनीहरूको प्रजनन क्रिया बिथोलिएको छ ।

त्यस्तै मुरलीचरी, सुनचरी, स्वर्गचरी, डलर बर्डलगायत ६२ प्रजातिका चरा बच्चा हुर्काउन नेपाल आउने गरेका छन् । स्थानीय मजुर, लुइँचे, वनकुखुरा, गौँथली, माटिकोरे, हलेदो, ढुकुर, कोकले, चिबे, धनेस पनि डढेलोको चपेटामा परिरहेका छन् । पानी चराले प्रजनन गर्ने वातावरण डढेलोले प्रभावित बनेको छ ।  तराई–मधेश छोएका राष्ट्रिय निकुञ्ज डढेलोको चपेटामा परेका छन् । 

छैनन् आधुनिक उपकरण

राष्ट्रिय निकुञ्ज विभागका प्रवक्ता वेदकुमार ढकालले राष्ट्रिय निकुञ्जमा डढेलो निभाउन अत्याधुनिक प्रविधि व्यवस्था नभएको बताउनुभयो, “धुवाँ, खरानीको धुलोले बाक्लो तुवाँलो बनेको छ । कतै घाइते भएका प्राणी र चराका उद्धार गर्न पनि कठिनाइ भइरहेको छ,” उहाँले भन्नुभयो । चितवन जस्तै तराई र तराई छोएका निकुञ्जको अवस्था डढेलोमय छ । 

निकुञ्जका अनुसार पुरानो चलन अनुसार अग्निरेखा बनाएर आगो निभाउनेगरिन्छ । उहाँले रिजर्भ ट्याङ्की र छुट्टै पोखरी बनाउन सके डढेलो केही हदसम्म रोक्न सकिने बताउनुभयो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरणका डढेलोविज्ञ सुन्दर शर्माले डढेलोले हुने पन्छी र वन्यजन्तुको क्षतिको छुट्टै अध्ययन गरेर न्यूनीकरणको योजना बन्नुपर्नेमा जोड दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले ठुला वन्यजन्तु भागेर बाँच्ने र डढेलोमा अनुकूलित हुने गरेको जानकारी दिनुभयो । “साना वन्यजन्तु, माटोमुनि बस्ने, घस्रिने वन्यजन्तु डढेलोमा धेरै मर्छन्,” उहाँले भन्नुभयो, “डढेलोले वनको खाद्यचक्र प्रभावित हुँदा बाघ, हात्ती, गैँडा मानव बस्ती पस्ने र द्वन्द्व सिर्जना हुन्छ ।”