• १२ साउन २०८१, शनिबार

विवेकशील साझा पार्टीबाट प्रमुख र उपप्रमुखका उम्मेदवारका सात एजेण्डा

blog

काठमाडौं, वैशाख ३ गते। विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारले प्रतिज्ञा-पत्र सार्वजनिक गरेका छन्।  पार्टी केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरमा शनिबार पत्रकार सम्मेल गरेर काठमाडौंको मेयर र उपमेयर पदका उम्मेदवारले प्रतिज्ञा-पत्र सार्वजनिक गरेका हुन्। 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीले काठमाडौंको प्रमुख पदमा समीक्षा बाँस्कोटा र उपप्रमुख पदमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाएको छ। 

मेयर पदकी उम्मेदवार बास्कोटा पार्टीको बागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुनुहुन्छ। ३८ वर्षीया बाँस्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गर्नुभएको छ। उहाँ गत निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार बन्नुभएको थियो। २७ प्रतिशत मत ल्याएर उहाँले तेस्रो स्थान हासिल गर्नुभएको थियो। 

त्यस्तै, उपमेयर पदकी उम्मेदवार तुलाधर पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँ नेपाल जेसीजका तीन जना महिला राष्ट्रिय अध्यक्षमध्ये एक हुनुहुन्छ। त्यस्तै, उहाँ अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष हुनुहुन्छ। शिक्षा विषयमा स्नातकोत्तर ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ/संगठनको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ। 

मेयर र उपमेयर पदका उम्मेदवारको सात वटा मूल एजेण्डा छन्। बास्कोटा र तुलाधरको भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला-संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी नालाको सफाइ र पुनर्स्थापना, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा मूल एजेण्डा छन्।