• १६ भदौ २०८१, आइतबार

महँगियो निर्माण सामग्री

सङ्घीय संसद् भवन निर्माण सुस्त

blog

तस्बिर : सुजन गुरूङ्ग

विष्णु पाण्डेय
काठमाडौं, वैशाख ३ गते । निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम सुस्त भएको छ । सिंहदरबारको पुलती बगैँचामा निर्माणाधीन भवनको काममा जारी रुस–युक्रेनबीचको द्वन्द्वको प्रभाव देखिएको छ । रुस र युक्रेन युद्धले निर्माण सामग्रीमा मूल्य बढेकाले निर्माण व्यवसायीले गुनासो गरेका छन् ।

निर्माण सुरु गरिएको साढे–दुई वर्ष बिते पनि हालसम्म आधा पनि काम सम्पन्न  भएको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १ गते शिलान्यास गर्नुभएको उक्त भवनको अहिलेसम्म ४२ प्रतिशत मात्रै काम सकिएको छ ।

विशेष भवन निर्माण आयोजना निर्देशक दिलीपशेखर श्रेष्ठले ठेक्का सम्झौता अनुसार अब निर्माण अवधि एक वर्ष मात्रै बाँकी रहे पनि अझै ५८ प्रतिशत काम  सक्न बाँकी रहेको बताउनुभयो । २०८० वैशाखसम्म निर्माणकार्य सक्ने गरी सम्झौता भए पनि चालू आवमा भने १३ प्रतिशत मात्र काम सकिएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले सबै आयोजनालाई छ महिना म्याद थपिदिएको थियो । यसअनुसार यस आयोजनाको म्याद २०८० वैशाखमा सकिँदैछ ।

निर्माण सामग्रीको भाउ बढ्दा रोकियो काम
आयोजना प्रमुख श्रेष्ठले पछिल्लो समय निर्माण व्यवसायीहरुले निर्माण सामग्रीको मूल्य बढेको भन्दै काम नगरेको बताउनुभयो । सङ्घीय संसद् भवन टुन्डी, एसएचआइसी जेभीले निर्माण गरिरहेको छ ।

आयोजना निर्देशक श्रेष्ठले पछिल्लो समय नेपालको अर्थतन्त्रमा समस्या देखिएकाले राष्ट्र बैंकले आयातमा कडाइ गरेको र पतीतपत्रका लागि अनिवार्य मार्जिन राख्नुपर्ने नियम बनाएकाले पनि निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलाइ गरेको बताउनुभयो  ।

नेपाल राष्ट्र बैंकले शतप्रतिशत पतीतपत्र मार्जिन राख्नुपर्ने प्रावधान बनाउँदा ईलेक्ट्रिक सामान, सेरामिक्स, पाइप्स, प्लम्बिङ्, सेनेटरी आइटमका सामान आयातमा समस्या आएको श्रेष्ठको भनाइ छ । उहाँले यी सामग्री आयातका लागि अग्रिम शुल्क तिर्नुपर्ने भएका कारण निर्माण कार्यमा कठिनाइ भएको बताउनुभयो ।

‘निर्माण सामग्रीको मूल्य बढेको छ ,यसअघि कोरोनाले काम हुन दिएन, यो पटक मूल्य बढ्यो भनेर निर्माण व्यवसायी काम नै नगरी बसेका छन्’ श्रेष्ठले भन्नुभयो ‘यस्तै भयो भने निर्माण सक्न म्याद थप्नुपर्छ ।’
कति भयो काम ?
हाल संसद् भवन निर्माणअन्तर्गत धेरै खण्डको काम भइरहेको छ । त्यसमा कमिटी भवन निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । आयोजना प्रमुख श्रेष्ठले ब्रिक वर्कतर्फ भने ९५ प्रतिशत काम पूरा भएको जानकारी दिनुभयो ।

भीभीआइपी बिल्डिङ दोस्रो तला निर्माणको काम सकिएको छ भने तेस्रो तलामा ७० प्रतिशत काम पूरा भएको छ । सेक्रेटरी बिल्डिङ् ७५ प्रतिशत, पार्टी अफिस र पार्किङ् ब्लकको ९५ प्रतिशत, लाइब्रेरी ब्लकको निर्माण २२ र सेन्ट्रल लबी २५ प्रतिशत काम पूरा भएको छ ।

क्यान्टिन ब्लकको पहिलो तलाको स्ट्रक्चर पूरा भएको श्रेष्ठको भनाइ छ । निर्माणाधीन सङ्घीय संसद् भवन १५१ रोपनी क्षेत्रफलमा बन्दै छ ।