• ९ वैशाख २०८२, मङ्गलबार

नयाँ वर्षमा अस्ट्रेलियामा आतसबाजी

blog

काठमाडौँ, चैत २५ गते ।  विदेशमा रहने नेपालीले आफ्नो अलग पहिचान देखाउने प्रवृत्ति बढ्न थालेको छ । यसै क्रममा अस्ट्रेलियामा बस्ने नेपालीले नयाँ वर्ष २०८१ का अवसरमा आतसबाजी गर्ने भएका छन् । 

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते (१३ अप्रिल, २०२४) अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको जानकारी अस्ट्रेलियास्थित सनातन समाजका अध्यक्ष सन्तोष मल्लले दिनुभयो ।

अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीको क्यानबेरामा उल्लेख्य बसोबास रहेको छ । अस्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपाली बस्दै आइरहेका छन् । 

सनातन समाज अस्ट्रेलियाका अध्यक्ष मल्लले नेपाल र नेपालीको विशेष दिनको अवसर पारेर स्थानीय सरकारको समेत अनुमतिमा कार्यक्रम गर्न लागिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपाली र भारतीयको संस्कार, संस्कृति र चाडपर्व समान भएकाले यहाँ नेपालीलाई पनि भारतीय नै मान्नेको जमात ठुलै छ । त्यसैले नेपालीको आफ्नै संस्कृति छ, चाल चलन छन् भनेर पहिचान दिनका लागि नयाँ वर्षलाई आतसबाजी गर्ने योजना बनाएका छौँ ।” विदेशमा नेपालीको आफ्नै मौलिक पहिचान स्थापित गर्न पनि यो आवश्यक रहेको उहाँले बताउनुभयो । 

गत वर्ष पनि यस्तो कार्यक्रम गरिएको तर यस पटक भने व्यवस्थित र ठुलो सहभागिता रहने उहाँले बताउनुभयो । आतसबाजी स्थानीय क्यानबेरा लेनबक्स गार्डेन्समा हुने छ ।