नेपाल आधुनिक युगमा प्रवेश गरेसँगै छिमेकी र विश्वका अन्य देशमा उपयोग गरिएका सामाजिक तथा आर्थिक कार्यक्रमको अनुकरण गर्ने क्रम पनि सुरु भयो । सहकारीबारे हाम्रा छिमेकी चीन र भारतको अभ्यास चाखलाग्दो मात्रै होइन, अनुकरणीय पनि छ । चीन र भारतमा सहकारीको अभ्यास बिसाैँ शताब्दीको सुरुदेखि नै भएको हो । युरोप र अमेरिकाको अभ्यास पनि प्रेरणादायी छ । राजनीति, शिक्षा, संस्कृति, सामाजिक परिवेशका अनेक आयाममा अन्य देशमा गरिने सहकारी उपयोगका सफल अभ्यासको अनुकरण एक देशबाट अर्को देशले गर्नु स्वाभाविक हो । सफलताका अनुभव र प्रविधि अपनाउने क्रममा विभिन्न देशले आफ्ना विशिष्ट पहिचान स्थापित गरेका हुन्छन् ।
चीनको आधुनिकीकरणसँगै विभिन्न कठिनाइपूर्ण अवस्थामा राष्ट्रपति बनेका डा. सन यात्सेनले बिसौँ शताब्दीको सुरुतिर नै पाँच वर्षभित्रै चीनको गरिबी हटाउँछु भनेर सहकारी अभियानको थालनी गरे । गरिबी, विदेशी हस्तक्षेप, राजनीतिक तरलता, आन्तरिक अस्तव्यस्तपन आदि कारणले उद्देश्य अनुरूप गरिबीको अन्त्य त सम्भव भएन तर सहकारी विकासमा उल्लेखनीय सुरुवात भयो । पहिलो तथा दोस्रो विश्वयुद्ध र त्यसपछिको चीनको क्रान्तिपछिका नेता माओत्से तुङ्गले नीतिनिर्माताले सहकारीलाई आत्मसात् गर्न नसके विकासको गति अवरुद्ध हुने विचार व्यक्त गर्दथे । बरु नयाँ चीनले सहकारीलाई कम्युन प्रणालीका रूपमा अपनायो । यसमा परिमार्जन गर्दै आजको चीनको अर्थतन्त्रमा सहकारीको उपयोग आफ्नै पाराले भइरहेको छ ।
यतिबेला सहकारी आन्दोलनमा चीन अगुवा र नेतृत्वदायी भूमिकामा छ । ‘नीति तथा कार्यक्रम बनाउन रातभरि छलफल गर्ने तर निर्णय भएपछि आँखा चिम्लेर काम गर्ने’ भन्ने चिनियाँ सहकारीको विशेषता स्थापित मानिन्छ । भारतले ब्रिटिस उपनिवेशकालमै कानुन बनाएर सुरु गरेको सहकारीको आफ्नै विशेषता छ । भारतीय सरकारको निर्देशन र नियन्त्रणमा सुरु गरिएको सहकारी अभियानका विषयमा युरोपमा निकै आलोचना गरिएको थियो । भारतीय अनपढ रहेका, हिसाबकिताब गर्न नजान्ने भएकाले सरकारले निर्देशित गर्नु परेको जवाफ भारतीय सत्तामा रहेका ब्रिटिस अधिकारीले दिने गर्दथे ।
युरोप र अन्य देशमा नागरिक स्तरमा हुने स्वतन्त्र पहलभन्दा फरक राज्यको निर्देशनमा अपनाउने सहकारी भारत एवं अन्य औपनिवेशिक भूभागमा अपनाइयो । सहकारी सुरुवात भएको झन्डै ५० वर्षपछि भारत स्वतन्त्र भयो । हाल भारतमा स्वतन्त्र सहकारीको अभ्यास छ । सहकारीको योगदानबाटै भारत दुध र कृषि मलको उत्पादनमा विश्वको पहिलो देश बन्यो । अमूल र इफ्को जस्ता सहकारी भारतको अर्थतन्त्रमा खम्बाका रूपमा रहेका छन् । त्यसैले त भारत विश्वको सहकारी आन्दोलनमा नेतृत्वदायी स्थानमा छ । ‘जुनसुकै राजनीतिक पार्टीमा विभाजित रहे पनि सहकारीमा मिलेर काम गर्ने संस्कृति’ भारतीय सहकारीले स्थापित गरेको विशेषता हो ।
धार्मिक राज्य र साम्राज्यको इतिहास बोकेको युरोपमा ‘धार्मिक र राजनीतिक तटस्थताको संस्कृति’ त्यहाँको सहकारी आन्दोलनले स्थापित गरेको छ । हङकङ, सिङ्गापुर, जापान, युरोप, अमेरिका, क्यानडा आदि विकसित अर्थतन्त्र भएका देशमा सहकारी क्षेत्रको रोजगारी सर्वाधिक आकर्षक बनेको छ । नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले सहकारीको सुरुवात गरेको (सरदार भीमबहादुर पाण्डे, त्यस बखतको नेपाल) इतिहास छ । भारत र बेलायतका गतिविधिको अनुकरण नेपालमा हुने नै भयो । सहकारी क्षेत्र आफैँले सहकारी मन्त्रालयको माग गर्छ । स्वशासन र सुशासनमा स्वतन्त्र नागरिक गतिविधिमा सहकारीको महिमा रहन्छ ।
भारत र अन्य देशमा सहकारीलाई राज्यको संलग्नताभन्दा स्वतन्त्र रहेर नै सुदृढ, गुणस्तरीय र दर्बिलो सहकारी आन्दोलन बनाउने अभ्यास भइसकेको छ । नागरिक पहल र सहभागितामा स्वायत्त र आत्मनिर्भर सहकारी क्षेत्र नै राज्यको उद्देश्य प्राप्तिका लागि उपयोगी हुने मानसिकताको विकास हुन नसकेको अवस्थाबाटै नेपाल गुज्रिरहेको छ । सहकारी राज्यको भरपर्दो साझेदार हो, जसले निजी क्षेत्रसँग प्रतिस्पर्धा गरेर चल्छ । हरेक प्रकारका सङ्कटमा सहकारी दिगो, भरपर्दो र उपयोगी क्षेत्र हुन्छ । नेपालको सहकारी क्षेत्र किन अपवाद बनिरहेको छ, यो विचारणीय छ । विश्वको जेठो र सबैभन्दा ठुलो गैरसरकारी क्षेत्रको सङ्गठित सञ्जाल सहकारी हो । संयुक्त राष्ट्रसङ्घ, आइएलओ, राज्य सरकार तथा अन्य विकास एजेन्सीको साझेदार पनि हो सहकारी ।
विश्वका विभिन्न देशमा सहकारी सुरुवात र विकासका एवं इतिहास पनि चाखलाग्दा छन् । सुरुमा गैरकानुनी गतिविधि मानिने रसियाको सहकारीको अभ्यास कठिनाइपूर्ण अवस्थाबाट विकास भयो । पहिलो विश्वयुद्धको समययता आइपुग्दा मस्कोमा विश्वविद्यालयका प्रोफेसरले सहकारीको सैद्धान्तिक पक्षमा उच्च प्राज्ञिक स्तरबाट योगदान गरे । सहकारीका सदस्यलाई समुदायमा सुपर सिटिजनका रूपमा सम्मान गरिन्थ्यो । अक्टोबर क्रान्तिपछिको नयाँ सत्ताका नेता लेनिनले पार्टीका प्रतिनिधि र सहकारीका प्राज्ञहरूको छलफलमा सत्ताधारी कम्युनिस्ट पार्टीका नेता अल्पमतमा परेको निर्णय सहकारीको पक्षमा भयो । नयाँ सत्ताका प्रतिनिधि अल्पमतमा रहेको निर्णयलाई लेनिनको नेतृत्वमा रहेको नयाँ सत्ताले समर्थन ग¥यो । यसबाट विद्वान्को कदर गर्ने नेताका रूपमा लेनिनको ख्याति अझ बढेको थियो । लेनिनपछिको नेतृत्वले पहिलेको कुरालाई नमानेर सहकारीलाई अर्कै रूपमा अपनाउने निर्णय गर्दा ती प्राज्ञले लामो समयको अनुभवलाई लाइब्रेरीको डस्टबिनमा मिल्काइयो भन्ने टिप्पणी गरेका थिए । लामो समयको समाजवादी अर्थतन्त्र धराशायी भयो । सहकारीको महत्व नबुझ्दा आन्तरिक जीवनमा आर्थिक दर्बिलोपना कायम हुन नसकेको भन्ने टिप्पणी केही अर्थशास्त्रीले गरे ।
नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले विसं २००० मा को–अपरेटिभ सोसाइटी स्थापना गरी सहकारीको प्रयास थालनी गरेको भीमबहादुर पाण्डेको त्यस बखतको नेपाल पुस्तकमा उल्लेख गरिएको छ । यसको निरन्तरताको विषयमा विस्तृत अध्ययन हुन आवश्यक देखिन्छ । सहकारीका अगुवा कैलाशभक्त प्रधानाङ्गका खोज, अध्ययन र सङ्कलित सामग्री नेपालको सहकारी इतिहासको अध्ययनमा उल्लेखनीय छन् । प्रधानाङ्गद्वारा प्रकाशित सामग्री सहकारीका विविध आयामको विषयमा तथ्यगत सूचनाका स्रोत रहेका छन् । सहकारी विकास बोर्ड, सहकारी विभाग, राष्ट्रिय सहकारी सङ्घ, सहकारी सङ्घ÷संस्था र मिडिया एवं केही स्वतन्त्र लेखकले सहकारीसम्बन्धी लेखन, प्रकाशन र सम्प्रेषण गर्ने काम गरिरहेका छन् । अरू देशमा भने
सहकारीलाई औपचारिक शिक्षा र प्राज्ञिक अनुसन्धानको विषय बनाइएको पाइन्छ । सहकारीको विषयमा नेपालमा अध्ययन सामग्री थोरै र नगन्य पाइन्छ । खोजमूलक र प्राज्ञिक स्तरका साम्रीको अभाव नै छ ।
नेपालमा २०१३ चैत २० गते चितवनमा स्थापना भएको बखान सहकारीलाई पहिलो मानेर बर्सेनि चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । नेपालको सहकारी क्षेत्रको नेतृत्व र प्रतिनिधित्व राष्ट्रिय सहकारी महासङ्घले गर्छ । राज्यको तर्फबाट सहकारी क्षेत्रमा काम गर्ने मन्त्रालय तथा सहकारी विभाग, प्रदेश र पालिकास्तरमा विभाग छन् । सहकारी प्रशिक्षण केन्द्र कार्यरत छन् । सहकारी संस्थाका जिल्ला, प्रदेश र केन्द्रीय सङ्घ छन् । महासङ्घको नेतृत्वमा सरकारी र सहकारी दुवैले राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ ।
विसं २०११ सालमा बाढीपीडित भएर गोर्खा र लमजुङबाट चितवनमा गएर जङ्गल फँडानी गरी गुजारा गर्ने क्रममा २२–२५ परिवारको सामूहिक बसाइको प्रबन्ध गर्ने बखानसिंह गुरुङ पहिलो सहकारीका अगुवा पथप्रदर्र्शक हुन् । उनलाई ऐतिहासिक व्यक्ति मान्नुपर्ने हुन्छ । उनले सामूहिक बस्तीको नेतृत्व गरेर सोही समूहबाट निर्माण गरेको सहकारीलाई नेपालको पहिलो सहकारी संस्था मानियो । उनी प्रजातान्त्रिक आन्दोलनका सक्रिय योद्धा थिए । उनले सामूहिक बसोबासको कार्य कसरी र कुन प्रेरणाबाट स्थापना गरे भन्नेबारेमा आधिकारिक रूपमा खोज तथा अनुसन्धान हुन सकेको छैन ।
सामूहिक बसोबासको अभ्यास गरी सोही समूहलाई सहकारी संस्थाका रूपमा विकास गरेको कुरा बेलायतका रोबर्ट ओवेनले अभ्यास गरेको पहिलो कम्युन सुन्दर बस्तीलाई ऐतिहासिक महत्वको घटनाका रूपमा हेर्न सकिन्छ । तथापि यसको विस्तृत अध्ययन आवश्यक देखिन्छ । बखानसिंह गुरुङको ऐतिहासिक योगदानलाई स्मरण गर्न ढिला त भइरहेको छैन ? विश्वमा पहिलो सामूहिक बस्ती, सामूहिक उत्पादन र आवश्यकताका आधारमा उपयोग भन्ने विचारका प्रणेता रोबर्ट ओवेनलाई समाजवादी विचारका पिता मानिन्छ, सहकारी आन्दोलनको वैचारिक पृष्ठभूमि उनकै विचार र योगदानलाई मानिन्छ ।
नेपालमा विसं २०१६ सालमा सहकारी ऐन संसद्बाट पारित गरियो । यो बेला प्रधानमन्त्री बिपी कोइराला थिए । विसं २०१७ सालमा पञ्चायती व्यवस्थाको प्रादुर्भाव भएपछि सहकारीलाई साझाका रूपमा चलाइयो । यस अवधिमा नागरिकका तर्फबाट स्वतन्त्र तत्परता र पहल विकास हुन सकेन, राज्यनिर्देशित रह्यो । विसं २०४६ को जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापना भएसँगै साझा कार्यक्रमलाई सहकारी ऐन, २०४८ व्यवस्था गरेर फेरि सहकारीमा रूपान्तरण गरियो । यसपछि जनताको स्वतःस्फूर्त सहभागिता बढ्यो ।
२०७२ सालमा बनेको नयाँ गणतान्त्रिक संविधानमा सहकारी, निजी र सार्वजनिक गरी तीनखम्बे अर्थतन्त्र भन्ने उल्लेख गरियो । सङ्ख्यात्मक रूपमा वृद्धि भए अनुसार सहकारी शिक्षा र कतिपय अन्य कुरामा रहेका कमीकमजोरीका कारण सहकारीको गुणात्मक विकास हुन सकेको छैन । फलस्वरूप सहकारी क्षेत्र अन्योल, समस्याग्रस्त र ठगीका घटनाले चर्चा पाउने अवस्थामा पुग्यो । उचित परिमार्जनका उपाय अवलम्बन गरी दर्बिलो, सुदृढ र असल अभ्यासको सहकारी आन्दोलनको विकास गर्न यस वर्षको राष्ट्रिय सहकारी दिवस २० चैत २०८० ले प्रभावकारी पहल गरोस् ।