• ३० वैशाख २०८२, मङ्गलबार

हिमालबाट दुई करोड बढी रोयल्टी सङ्कलन

blog

म्याग्दीको खोप्रालेकबाट देखिएको धौलागिरि हिमाल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, वैशाख ३० गते । म्याग्दीमा पर्ने दुई वटा हिमाल आरोहणबाट दुई करोड बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार धौलागिरि र अन्नपूर्णमा वसन्तकालिन यामको हिमाल आरोहणबाट दुई करोड ८८ हजार एक सय ६३ रुपियाँ रोयल्टी सङ्कलन भएको हो । 

अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणबाट एक करोड ६३ लाख ९६ हजार नौसय दुई रुपियाँ र धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने ८ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालबाट ३६ लाख ९१ हजार दुइसय ६० रुपियाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लीलाधर अवस्थीले जानकारी दिनुभयो 

वसन्त याममा अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि हालसम्म ६ समुहका ४९ पुरुष र १७ महिला गरी ६६ जनाले आरोहणको अनुमति लिएका छन् । यसैगरी धौलागिरि हिमाल आरोहणका लागि दुई समुहका ९ पुरुष र ६ महिला सहित १५ जना पर्वतारोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। 

आरोहणको अनुमति लिएका मध्य मङ्गलबार सम्म धौलागिरि १३ र अन्नपूर्ण ३० जनाले सफल आरोहण गरिसकेका छन् । अन्य आरोहीहरू हिमाल आरोहणका लागि आधार शिविरमा पुगेका छन् । 

यस वर्षको वसन्तकालिन हिमाल आरोहणबाट ७७ करोड रुपियाँभन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपियाँ रोयल्टी जम्मा भएको हो । 

यस वर्षको वसन्तकालिन यामको हिमाल आरोहणबाट ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपियाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी जम्मा एक हजार १२७ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जानकारी दिएको छ ।