• १३ पुस २०८१, शनिबार

विपद् व्यवस्थापनमा विश्व बैङ्कले सहकार्य गर्ने

blog

गाउँपालिकाका र विश्व बैङ्कका प्रतिनिधि सहभागी भएको विपद् व्यवस्थापनसम्बन्धी बैठकका सहभागी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १९ गते । 
ताप्लेजुङको मैवाखोला गाउँपालिकासँग विश्व बैङ्कले विपद् व्यवस्थापनको कार्यमा साझेदारी गर्ने भएको छ । गत वर्ष बर्खा मौसममा निकै ठुलो विपद्को सामना गरेको गाउँपालिकासँग विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणको कार्यमा बैङ्कले साझेदारी गर्ने भएको हो ।

मैवाखोला गाउँपालिका आइपुगेको विश्व बैङ्कको टोलीसँग भएको छलफलमा विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि सहकार्य गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार विपद् व्यवस्थापनमा गर्नुपर्ने काममा विश्व बैङ्कले सहयोग गर्ने भएको छ ।

गाउँपालिकाको विपद् जोखिम न्यूनीकरणको क्षेत्र, विपद् सम्बन्धी पूर्वसूचना, पुनर्स्थापनाको क्षेत्रमा प्रयोग हुने स्थानीय सामग्रीको वैज्ञानिक छनोटलगायतमा बैङ्कले सहयोग गर्ने छ । यस्तै, निर्माणका लागि आवश्यक पर्ने सीपसम्बन्धी तालिमहरू उपलब्ध गराउने र पालिकाभित्र उद्यमी सिर्जना गर्नेलगायत योजनामा गाउँपालिका र विश्व बैङ्कबिच सहकार्य गर्ने समझदारी भएको हो ।

छलफलमा गाउँपालिकाका तर्फबाट अध्यक्ष वनेम, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन र अन्य जनप्रतिनिधि सहभागी हुनुभएको थियो । त्यस्तै, विश्व बैङ्कका तर्फबाट विपद् व्यवस्थापनविद् करिना फोनसेका फेरैना, सूचनाविद् जोन फिनिन्गन, वरिष्ठ सामाजिक विकासविज्ञ इशा घर्ती, इन्जिनियर विपिनकुमार गौतम र कार्यक्रम संयोजक आशिष् श्रेष्ठ सहभागी हुनुभयो ।

विश्व बैङ्कसँग विपद् व्यवस्थापनको काममा सहकार्य गर्ने समझदारीले गाउँपालिकालाई ठुलो सहयोग पुग्ने विश्वास लिएको पालिका अध्यक्ष वनेमको भनाइ छ । विपद् व्यवस्थापनमा सहकार्य गर्नेगरी आएको विश्व बैङ्कको टोलीलाई गाउँपालिकाको तर्फबाट वनेमले धन्यवाद ज्ञापन दिँदै सम्मानसमेत गर्नुभयो ।

गत असार पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोले मैवाखोला गाउँपालिकामा मानवीय साथै भौतिक पूर्वाधारतर्फ ठुलो क्षति गरेको थियो । बाढी पहिरोले मानव बस्ती नै उच्च जोखिममा पुर्‍याएका कारण गाउँपालिकाको वडा ३ र ४ साँघुका ६५ परिवारलाई तत्काल अस्थायी आवास निर्माण गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो । पीडित परिवार अहिले पनि आवासस्थलमै बसोबास गर्दै आएका छन् ।