• १४ पुस २०८१, आइतबार

देश राजनीतिक स्थायित्वको यात्रामा छ : महासचिव पोखेरल

blog

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल । तस्विरः नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण

महोत्तरी, पुस १३ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल अहिले राजनीतिक स्थायित्वको यात्रामा अगाडि बढेको बताउनुभएको छ । महोत्तरीको रामगोपालपुरमा आयोजना गरिएको बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा महासचिव पोखरेलले त्यस्तो बताउनुभएको हो ।

नेपाली कांग्रेस र एमाले मिलेर देशलाई राजनीतिक स्थायित्वमा लैजान गरेको सङ्कल्पकै आधारमा देश अघि बढिरहेको बताउनुहुँदै महासचिव पोखरेलले विकास र समृद्धिको यात्रामा समेत देश अघि बढेको दावी गर्नुभयो । 

संविधान र कानुनमा हेरफेर गरेर भए पनि विकास र समृद्धिको यात्रालाई अघि बढाउने सङ्कल्पकै कारण देश अघि बढेको हो । यो एमाले नेतृत्वको सरकारको कारणले सम्भव भएको महासचिव पोखरेलको दावी छ । 

एमाले नेतृत्वमा बनेको सरकारको कारणले अहिले देशमा धेरै सुधार भएको बताउनुहुँदै उहाँले लगानीको क्षेत्रमा दक्षिण एसियामा भारतपछि नेपालको अवस्था सुधारोन्मुख रहेको बताउनुभयो । राजस्व बढेको छ । पूर्जी खर्चको बढेको छ । विदेशी मुद्राको सञ्चिती बढेको छ, महासचिव पोखरेलले बताउनुभयो ।

नेतृत्वको छोटो समयमै एमाले नेतृत्वले गरिरहेको कामले नेपाली जनतामा आशा जगाएको बताउनुहुँदै नेता पोखरेलले केही तत्वहरू सो आशालाई निराशामा बदलिने गरी षडयन्त्र गरिरहेको बताउनुभयो । एमालेमा स्थिरता मच्चाउने, आशालाई निराशामा बदल्न, एमालेलाई घेराबन्दी गर्ने काममा केही तत्वहरू लागिरहेको बताउनुहुँदै उहाँले नेपाली जनताको भविष्यमाथिको आक्रमण भएकाले यसलाई चिर्न नेपाली जनता अग्रसर हुन आग्रह गर्नुभयो ।

उहाँले मधेशमा हुलाकी सडक आयोजनाको काममा तिव्रता, सुनकोशी मरिन डाइभर्सनको काममा तिव्रता लगायतका कामहरू एमाले सरकारको श्रेय भएको बताउनुहुँदै विकास र राष्ट्रियताको पक्षमा एमाले मात्र रहेको बताउनुभयो ।

छिमेकीसँग आँखामा आँखा जुधाएर नेपाली जनतालाई विकासको हितमा काम गर्ने एमाले नेतृत्वको सरकार मात्र भएको बताउनुहुँदै उहाँले आउँदो निर्वाचनमा एमालेलाई सहयोग गर्न आग्रह गर्नुभयो । नेकपा (एमाले) का जिल्ला अध्यक्ष बलराम यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो, मधेश प्रदेशको भौतिक विकास मन्त्रालयका मन्त्री सरोजकुमार यादव, एमालेका नेता रामदयाल मण्डल लगायतका वक्ताले मन्तव्य राख्नुभएको थियो ।