• १४ पुस २०८१, आइतबार

सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार फोनिजलाई

blog

स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार प्रदान गरिँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १३ गते । स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार यस वर्ष नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) लाई संस्थागत रूपमा प्रदान गरिएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार राजधानीमा आयोजित एक समारोहबिच सो पुरस्कार फोनिजलाई प्रदान गरेको हो । नेपाली पत्रकारलाई पहिलो पटक संङ्गठित गरी त्यसको नेतृत्व गर्ने तत्कालीन नेपाल टुडेका सम्पादक सत्यनारायणबहादुर श्रेष्ठको १०९ औं जन्मजयन्तीको अवसरमा सो सम्मान प्रदान गरिएको दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । 

नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्नमा फोनिजले महत्त्वपूर्ण दबाब कायम गरेको भन्दै फोनिजलाई संस्थागत रूपमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।फोनिजको नेतृत्वमा देशभरका पत्रकार महासङ्घको जिल्ला शाखामार्फत् महासङ्घ केन्द्रलाई ज्ञापनपत्र बुझाउने र महासङ्घका अध्यक्ष विपुल पोखरेलको कार्यकालमा सो एजेन्डालाई विधानसभामा छलफल गराउने तहसम्म प्रवेश गराएको थियो।

समारोहमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष गजुरधन राईलाई पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, स्वर्गीय श्रेष्ठका छोरी सुजिता श्रेष्ठले नगद २५ हजार रुपियाँसहित सम्मानपत्र प्रदान गर्नुभयो। 

पत्रकार राष्ट्रिय दबूले २०७६ सालदेखि श्रेष्ठको जन्मजयन्ती मनाउने र गत वर्षदेखि पुरस्कार दिन थालेको छ । गत वर्ष सो पुरस्कार पत्रकार लक्की चौधरीलाई प्रदान गरिएको थियो । सो अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले स्वर्गीय श्रेष्ठको इतिहासलाई उपेक्षा गरेर पत्रकार महासङ्घले सत्यलाई स्वीकार गर्न नचाहेको बताउनुभयो । 

नेवाः पत्रकार राष्ट्रिय दबूका सचिव राजु नापितले स्वर्गीय श्रेष्ठको योगदानलाई फैलाउन पत्रकार दबूले हरेक वर्ष विविध कार्यक्रम गर्दैआएको बताउनुभयो । समारोहमा मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले पत्रकार महासङ्घको विधान अधिवेशनमार्फत यस बहसलाई टुङ्ग्याउनु पर्नेमा जोड दिनुभयो । सो अवसरमा हालै सम्पन्न पत्रकार महासङ्घमा निर्वाचित दबूका सदस्यलाई सम्मान गरिएको थियो ।

सत्यनारायणबहादुर श्रेष्ठले वि.सं. २००८ साल वैशाख ९ गते पहिलो पटक तत्कालिन पत्रकार सङ्घ गठन गर्नुभएको थियो । पत्रकारको भेलाले श्रेष्ठको नेतृत्वमा सङ्घको तदर्थ समिति गठन गरेको थियो । सोही सङ्घ अहिले नेपाल पत्रकार महासङ्घको रूपमा स्थापित छ । फोनिज, राष्ट्रिय दबू लगायतका सङ्घ संस्थाका पदाधिकारी तथा सदस्यहरूले श्रेष्ठलाई महासङ्घको संस्थापक कायम गर्न माग गर्दै आउनुभएको छ ।