• १३ पुस २०८१, शनिबार

भारतको पञ्जाबमा बस दुर्घटना : आठको मृत्यु, ४६ यात्रुको उद्धार

blog

काल्पनिक चित्र ।

नयाँ दिल्ली,  पुस, १२ गते । उत्तरी भारतको पञ्जाब राज्यमा एउटा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । दुर्घटना पञ्जाबको भटिंडा जिल्लाको जीवन सिंह वाला गाउँ नजिक भएको हो ।

दुर्घटनाको लगत्तै स्थानीय बासिन्दा घाइतेहरूलाई मद्दत गर्न घटनास्थलमा पुगे र प्रहरीलाई खबर गरे । प्रहरीले उद्धार कार्यमा आफ्नो टोली र विपद् व्यवस्थापन बलका कर्मचारीहरू पठाए ।

“आजको दुर्घटनामा एक दुई वर्षीया बालिका सहित आठजनाको दुर्भाग्यपूर्ण मृत्यु भएको छ,” भटिंडाका एक वरिष्ठ सरकारी अधिकारी शौकत अहमद परेले मिडियालाई बताउनुभयो । “तलवन्दी अस्पतालमा पाँच जनाको र अन्य तीन जनाको सिभिल अस्पताल भटिंडामा मृत्यु भएको पुष्टि भएको छ ।”

बस तीव्र गतिमा गुडेको तथा चालकले नियन्त्रण गुमाएपछि नालीमा खसेको हो । भटिंडाका एक वरिष्ठ प्रहरी अधिकारी अमनीत कोन्डलले दुर्घटनास्थलबाट ४६ यात्रुको उद्धार गरिएको बताउनुभयो । प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । रासस, सिन्ह्वा