चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेमा माघेनी मेलाको अवसरमा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय आँपपानी युवा क्लबको आयोजनामा अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको हो ।
आँपपानी युवा क्लबले सदरमुकाम फुङ्लिङमा शनिबार पत्रकार सम्मेलन गर्दै यही पुस २५ देखि माघ १ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । क्लबका अध्यक्ष प्रेमबहादुर लिम्बूले माघेनी मेलाको अवसरमा चाँगेको नेसुममा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
लिम्बूका अनुसार प्रतियोगिताका विजेताले एक लाख ११ हजार १११ रुपियाँँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । यस्तै उपविजेताले ५५ हजार ५११ रुपियाँ नगद पुरस्कारसँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सल्लाहकार उदय आङ्बुहाङले जानकारी दिनुभयो ।
सल्लाहकार आङ्बुहाङका अनुसार फुटबल प्रतियोगितासँगै राष्ट्रिय कलाकारको सहभागितामाा साङ्गीतिक कार्यक्रमसमेत हुने छ । माघेनी मेलाको अन्तिम दिन अर्थात माघ १ गते कलाकारहरू रचना रिमाल, सविना योङ्हाङ, कञ्चन थलङ, खगेन्द्र यक्सो, लीला राई लगायतको सहभागितामा साङ्गीतिक कार्यक्रम हुने छ ।
यसैगरी सांस्कृतिक कार्यक्रममा मौलिक संस्कृतिलाई प्राथमिकता दिइने र आफ्नो प्रस्तुतिसहित सहभागी हुनेलाई प्रोत्साहन पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ । मौलिक संस्कार संस्कृतिको उजागरसँगै स्थानीय युवाको खेलप्रति रहेको उत्साह र जोसलाई प्रवद्र्धन गर्ने उद्देश्यले माघेनी मेलामा खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लबका सल्लाहकार आङ्बुहाङले जानकारी दिनुभयो ।