काठमाडौँ, चैत १९ गते । चलचित्र सम्पादन प्राविधिक काम हो । दृश्य सम्पादकले चलचित्र काट्न र जोड्ने कामको कलाकुशलताले मात्र चलचित्रमा निखारता आउँछ । चलचित्रको जति राम्रो नायक, नायिकाको सहभागिता र छायाङ्कन सुन्दर तरिकाले गरे पनि दृश्य सम्पादनको काम गुणस्तरीय हुन सकेन भने कथाकारले सोचे जस्तो अनि निर्देशकले कल्पना गरे जस्तो चलचित्र नबन्न सक्ने सम्भावना उत्तिकै रहने गर्छ ।
चलचित्रका पटकथा, गीत, सङ्गीत जति मिलेका र जनजिब्रोमा झुन्डिने खालका भए पनि उपयुक्त स्थानमा उपयुक्त दृश्य राख्न नसकिएको खण्डमा चलचित्र चाहे अनुसार उत्कृष्ट बन्न नसक्ने चुनौती सधैँ रहने गर्छ । त्यसैले चलचित्रको अन्तिम नायक, कलाकार अनि गीतकार नै दृश्य सम्पादक हो भन्दा फरक पर्दैन तर तिनै प्राविधिक व्यक्तिले पाउने सेवासुविधा भने निकै कम भएको गुनासो आउन थालेको छ । चलचित्र सम्पादन कलाको विशिष्ट रूपमध्येको एक भएको चलचित्र सम्पादक रजनीनाथ पन्त बताउनुहुन्छ ।
सयभन्दा बढी चलचित्र सम्पादन गरिसक्नुभएका पन्तका भनाइमा चलचित्र सम्पादकमा विशिष्ट क्षमता नभई चलचित्र सम्पादनलाई न्याय गर्न सकिँदैन । उहाँले भन्नुभयो, “सम्पादन भनेको काँटछाँट गरेर त्यसलाई मिलाएर राम्रो बनाउने हो, पहिला रिलमा काम गरिन्थ्यो भने अहिले प्रविधिले धेरै कुरा परिवर्तन गरेको छ । अहिले आफूले गरेको सम्पादनको काम तुरुन्तै हेर्न सकिन्छ भने पहिला त्यो सुविधा थिएन तर अहिले प्रविधिले सबै छिटोछरितो बनाएको छ ।”
दुई सयभन्दा बढी चलचित्र सम्पादन गरिसक्नुभएका बनिश शाह आफ्नो कामबाट खासै सन्तुष्ट देखिनुहुन्न । उहाँ भन्नुहुन्छ, “प्राविधिक हिसाबले चलचित्र सम्पादनमा धेरै परिवर्तन आएको छ । नयाँ प्रविधि आएपछि चलचित्र सम्पादनमा धेरै नयाँ नयाँ काम गर्न थालिएको छ । जसले कामलाई सजिलो बनाइदिएको छ ।” चलचित्र सम्पादनको आर्थिक पाटो भने एकदमै कमजोर रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँ काम ग¥यो तर पारिश्रमिक खासै छैन ।” सम्पादनका काम भनेको ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखान जस्तो भएको छ । जसको अनुहार बिक्छ त्यो चल्छ । मेहनत गर्नेको कुनै मूल्य छैन । चलचित्र सम्पादनमा मात्र नभएर पोस्ट प्रोडक्सनमा बजेट नभएको उहाँले गुनासो गर्नुभयो । महिला चलचित्र सम्पादक रक्षा सिंहको भनाइ पनि शाहसँग मिल्दोजुल्दो छ । सामाजिक सञ्जाल र अनलाइनले मात्र चलचित्र चल्यो भनेर हल्ला सही नहुने उहाँँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ चलचित्र चलेको हल्ला हुन्छ । कतिपय हल्ला अनुसार चलेकै हुँदैनन् चलेकाले पनि हामीलाई राम्रो पारिश्रमिक दिएका हुँदैनन् ।”
तीन दर्जनभन्दा बढी चलचित्र सम्पादन गरिसक्नुभएकी सिंहले भन्नुभयो, “सम्पादनमा कमाइ हुँदैन भन्ने पनि होइन, आजसम्म यही काम गरेर जीवन गुजारा चलिरहेको छ तर अरू पेसा जस्तो कमाइ भने यथार्थमा भएको छैन ।”
यो पेसामा रातदिन भन्न पाइँदैन । दसैँको समय सबैभन्दा धेरै व्यस्त हुने बेला हो । धेरै चलचित्र त्यही बेला प्रदर्शनमा आउँछन् । चलचित्र सम्पादनको काम ठिक यो अवधिमा सम्पन्न गर्न सकिन्छ भनेर भन्न नसकिने भएकाले काममा लागिसकेपछि सम्पन्न गर्नैपर्ने हुन्छ ।
पछिल्ला दिनमा चलचित्रलाई कस्तो बनाउने भनेर निर्देशकले सम्पादकसँग पनि सल्लाह लिने गरेको कुरा चलचित्र सम्पादक मित्रदेव गुरुङले बताउनुभयो । चलचित्र निर्माणको व्रmम बढे पनि प्राविधिकको आम्दानी भने खासै चित्तबुझ्दो नभएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “सम्पादनको काम गर्दा आर्थिक रूपमा पनि सक्षम हुने अवस्था अझै आउन सकेको छैन ।”