रवीन्द्र उप्रेती
बर्दीबास, चैत १८ गते । नगरप्रमुख प्रह्लाद क्षेत्रीले ७० हजार लिटर क्षमताको नयाँ खानेपानी ट्याङ्कीको आज वैदिक विधिपूर्वक शिलान्यास गर्नुभएको छ । बर्दीबास ३ स्थित चुरे र भावरको मध्यबिन्दुमा पर्ने धारापानीमा खानेपानी प्रमुख समस्याका रुपमा छ ।
गाँउका ७५ वर्षीय प्रेमबहादुर थापाका अनुसार पहिले यहाँ खानेपानीको कुनै समस्या थिएन । जङ्गल हराभरा थियो । गाउँको वरिपरि रहेका सातपत्रे खोल्सी, हात्तीमारा र नौ खोल्सीमा सदाबहार पानी बग्थ्याे ।
गाउँलेका तिर्खा तीनै खोल्सीमा रसाएका शुद्ध र मीठो पानीले मेट्ने गरेको उहाँले विगत सम्झिनुभयो । अहिले पनि खोल्सीहरु त छन् तर तिनमा पहिले झैँ पानी भने छैन । वरिपरिका घना जङ्गल उजाड र रित्तिने क्रमसँगै रसिला खोल्सीहरु पनि मरुभूमि बन्दै गए । यो वातावरणीय विपद्ले गर्दा धारापानी काकाकुल बनेको उहाँको बुझाइ छ ।
"यो गाउँ अब नाम मात्रको धारापानी रह्यो । गाँउमा धारा त छन् तिनमा पानी छैन । खोला खोल्सीमा चिस्यानसमेत छैन," थापाले भन्नुभयो, "धारा सुकेकाले पानी दिने हाम्रो अवस्था रहेन ।" खानेपानी उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर राउतका अनुसार ८० परिवार बसोवास गर्ने धारापानीको जनसङ्ख्या करिब ५०० छ ।
खोल्सीहरु सुक्दै गएपछि गाउँलेको तिर्खा मेट्न एक दशकअघि २ किमी पश्मितर्फको भवसी खोला छेउमा ८५ फिट गहिरो नयाँ डिप ट्युवेल गाडियो । त्यहाँबाट पम्पले तानेर २६ हजार लिटर छमताको ट्यांकीमा जम्मा गरि दामाशाहीले पानी वितरण गर्नु पर्थ्याे । जनसङ्ख्या बढ्दै जाँदा ट्यांकीको पानीले गाँउलेको आवश्यकता थेग्न सकेन । त्यो ट्यांकी पनि ६ महिनाअघि फुटेपछि धारापानीका लागि पानी टड्कारो समस्या बनेका उहाँले पीडा सुनाउनुभयो ।
पानी अभावले चौपाया पाल्नेदेखि स्वास्थ्य र सरसफाइसम्बन्धी अनेकन समस्या आइलागेको गाँउलेको भनाइ छ । "अव भने पहिलेको भन्दा तेव्वर छमताको (७० हजार लिटर) ट्यांकी शिलान्यास भएकोले गाँउमा पानीको समस्या टरेर जाने आशा जगाएको छ", समिति अध्यक्ष राउतले थप्नुभयो, "यसले सबै गाँउलेलाई राहत महसुस गराएको छ ।"
नगरप्रमुख क्षेत्रीले धारापानीको प्रमुख समस्या बनेको खानेपानी आपूर्तिका लागि नगरस्तरीय योजनाबाट १२ लाख रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो । "यही बजेटबाट नयाँ ट्याङ्की निर्माण सुरु भएकोले छिटै नै धारापानीको तिर्खा मेटिने विश्वाश दिलाउन चाहन्छु," नगरप्रमुख क्षेत्रीले भन्नुभयो । बर्दीबास वडा नं ३ का वडाध्यक्ष विराट विस्टले नगरस्तरीय योजना भएकोले असारभित्र सम्पन्न हुने गरी निर्माण कार्य अघि बढाइएको बताउनुभयो ।