खलङ्गा समाचारदाता
जाजरकोट, जेठ ४ गते । जाजरकोटको भेरी नगरपालिका–१२, बिसामेचौरका स्थानीयले प्रयोग गर्दै आएको लिफ्ट खानेपानी तथा डिप बोरिङका दुई वटा योजना बिग्रिएपछि खानेपानीको हाहाकार भएको छ ।
गाउँमा खानेपानी नभएर बर्सौंदेखि भेरी नदीको धमिलो पानी पिठ्युँमा बोकेर खाने गरेका ३५ घरपरिवारलाई सहज बनाउन कर्णाली प्रदेश सरकारको कृषि विकास कार्यालयमार्फत १५ लाख रुपियाँको बजेटमा २०७९ असारमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको लिफ्ट खानेपानी आयोजना बिग्रिएको हो । सोही गाउँबस्तीका लागि २०७७ सालमा कर्णाली प्रदेश सरकारबाट डिप बोरिङका लागि ३५ लाख रुपियाँका दुई वटा योजना नियमित रूपमा सञ्चानलमा नआएपछि थप समस्या भएको स्थानीयको भनाइ छ ।
भेरी नगरपालिका–१२ की डिलसरा बस्नेत बुढाका अनुसार गाउँनजिक २०७७ पुसमा बल्लेखोलामा निर्माण गरेका डिप बोरिङबाट पानी नआउँदा खानेपानीको हाहाकार भएको बताउनुभयो । बल्लेखोलाको डिप बोरिङ प्रविधिको गलत स्टिमेटका कारण पानी नआउँदा बजेट बालुवामा पानी हालेसरह भएको हो । पानी नहुने खोलामा प्राविधिकको स्टिमेट अनुसार काम गरे पनि पानी खान नपाएको उहाँले बताउनुभयो ।
अर्की स्थानीय बालकुमारी वली शाहीले भेरी नदीको पानी नियमित रूपमा एक धारमा नबगेका कारण लिफ्टिङमा पानी कम हुँदै गएको बताउनुभयो । पछिल्लो समय मोटर पुरिएपछि पानी आउन छाडेको हो । कृषि विकास कार्यालयले सामग्री खरिद गरेर निर्माण गरेको लिफ्ट खानेपानी मर्मत नगरेका कारण समस्या भएको छ ।
भेरी नगरपालिका–१२ का वडाध्यक्ष भक्तबहादुर मल्लका अनुसार प्राविधिक र सरोकारवालाको लापर्बाहीका कारण खानेपानीको समस्या भएको हो । भेरी नगरपालिका तथा पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा बिसामेचौर, लाजेगाउँ, रातापोखरा गरी तीन गाउँमा पानी पु¥याउने गरी सीमा र गाउँमुनिको भेरी नदीमा सर्भे गरिएको छ । गाउँबस्तीमा पानी पु¥याउन पहल भइरहेको वडाध्यक्ष मल्लको भनाइ छ ।