नेपालगन्ज समाचारदाता
नेपालगन्ज, जेठ ४ गते । बाँके जिल्ला आगलागीको उच्च जोखिममा रहेको पाइएको छ । जिल्लाको नेपालगन्ज, कोहलपुर र नरैनापुरमा सबैभन्दा बढी आगलागीका घटना हुने गरेका छन् ।
विपत् व्यवस्थापन समिति बाँकेले खास गरी हावाहुरी र गर्मीको मौसममा सबैभन्दा बढी आगलागीका घटना हुने हुँदा सोबाट जोगिन विभिन्न उपाय पनि अपनाइएको जनाएको छ तर पनि आगलागीका घटना धेरै हुने गरेको र तीमध्ये सबैभन्दा बढी आगलागी विद्युत् सर्ट भएर हुने गरेको पाइएको वारुणयन्त्र नियन्त्रण शाखा नेपालगन्जले जनाएको छ ।
सो शाखाका अनुसार वैशाखमा मात्र बाँकेमा विभिन्न २२ स्थानमा आगलागीका घटना भएका छन् । तीमध्ये सबैभन्दा बढी १६ वटा घटना विद्युत् सर्ट हुँदा भएको पाइएको छ । वारुणयन्त्र नियन्त्रण शाखा नेपालगन्जका प्रमुख झैनबहादुर खड्काले वैशाखमा डुडुवा गाउँपालिकामा दुई, जानकी गाउँपालिकामा दुई, राप्तीसोनारी गाउँपालिकामा एक र कोहलपुर नगरपालिकामा एक आगलागीका घटना भएका जानकारी दिँदै यी जिल्लामा भएका ठुला घटना रहेको उल्लेख गर्नुभयो । उहाँले विद्युत्का कारण अधिकांश ठाउँमा आगलागीका घटना भएको पाइएको उल्लेख गर्दै मानवीय क्षति भने नभएको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपलिका–२२, पुरैनामा भएको उक्त आगलागीमा करिब ५० लाख रुपियाँ बराबरको सिरक तथा डसना जलेर नष्ट भएको थियो । वारुणयन्त्र शाखाका प्रमुख खड्काले सो आगलागी नियन्त्रणमा ल्याउन करिब पाँच घण्टा लागेको बताउनुभयो । नेपालगन्जस्थित भेरी अस्पतालका अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले मेडिकल स्टोरमा भएको आगलागीबाट ३४ लाख रुपियाँ बराबरको औषधीजन्य सामग्री जलेर क्षति भएको जानकारी दिनुभयो ।
पर्याप्त मात्रामा वर्षा नहुनु, हावाहुरी र सुक्खा बढ्नुलगायत विद्युत्को भोल्टेज कम वा बढी हुनु र अन्य विभिन्न लापर्बाहीले बाँकेमा आगलागीको जोखिम बढ्दै गएको वारुणयन्त्र शाखाका प्रमुख खड्काले बताउनुभयो । उहाँले घटनाको खबर हुनासाथ दमकल घटनास्थलतर्फ पुग्ने गरेकाले मानवीय क्षति नभएको बताउनुभयो ।
वैशाखमा मात्रै भएका विभिन्न आगलागीका घटनामा आगो नियन्त्रणमा ल्याउन एक घण्टा ४५ मिनेटदेखि पाँच घण्टासम्म समय लागेको वारुणयन्त्र शाखाले जनाएको छ । कार्यालयले पानी भरेर तीन वारुणयन्त्र तयारी अवस्थामा राखेको जनाउँदै एउटा फायर बाइकसमेत तयारी अवस्थामा रहेको जनाएको छ । वैशाखमा भएका केही आगलागीका घटना गहुँ बालीमा समेत भएको जानकारी दिँदै वारुणयन्त्र शाखाले आगलागी हुन नदिन सबैले सचेत भएर सजगता अपनाउन आग्रह गरेको छ ।