• २५ जेठ २०८२, आइतबार

गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माण सुस्त

blog

सिन्धुलीको घ्याङलेख गाउँपालिकाको निर्माणाधिन प्रमुख प्रशासकीय भवन । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, जेठ ४ गते । ठेकेदारको ढिलासुस्तीले सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकाको प्रशासकिय भवन निर्माण कार्यले गति लिन सकेको छैन। भवन निर्माणका लागि डेढ वर्षको म्याद पाएको निर्माण कम्पनीले सम्झौता भएको दुई वर्ष नौ महिना समय सकिदा ४५ प्रतिशत मात्रै प्रगती भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अनुसार उक्त भवन निर्माणका लागि १८ महिनामा सक्ने गरी पिपी ईश्वरी जेभी मन्थली, रामेछापले २०७९ साल भदौ ३१ गते सम्झौता गरी निर्माण सुरु गरेको थियो । त्यसपछि दुई पटक छ-छ महिना म्याद थप गर्दा पनि ४५ प्रतिशत मात्रै भवन निर्माण कार्य सकिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले सम्झौता गरेको सुरुको म्याद सकिएर दुई÷दुई पटक म्याद थप गर्दा पनि भवन निर्माण आधा पनि नसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "ठेकेदारले काम नगरेर भवन निर्माणमा ढिलाई भए रहेको छ, काम गर्दैन । पटकपटक मौखिक र लिखित ताकेता गदौ थाकी सक्यौं । भन्दा भन्दा वाक्क दिक्क भइसक्यो ।"

दुई महिनाअघि ढलान सकेको र अब गाह्रो लगाउन बाँकी रहेको उहाँले सुनाउनुभयो । प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलका अनुसार पछिल्लो पटक फागुन महिनामा चैतबाट लागु हुने गरी छ महिनाका लागि म्याद थपेके र अब भवन निर्माणको म्याद २०८२ भदौसम्म रहेको छ । ठेकेदारको लापरबाहीले अबको चार महिनामा भवन निर्माण कार्य पूरा हुने अवस्था देखिँँदैन ।

उक्त प्रशासनिक भवनको निर्माण लागत सङ्घीय सरकारको तीन करोड ३७ लाख ९५ हजार ६५७ रुपियाँ र गाउँपालिकाको दुई करोड २५ लाख ३० हजार ४३८ रुपियाँ गरी कुल पाँच करोड ६३ लाख २६ हजार ९५ रुपियाँ रहेको गाउँपालिकाले जनाएको छ । 

उक्त गाउँपालिकाको सेवा प्रवाह सुरुमा विद्यालय भवनबाट गरिएकोमा अहिले २ नम्बर वडा कार्यालयको भवनबाट प्रशासनिक कामको सेवा प्रवाह गरी काम चलाएको गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले बताउनुभयो । विषयगत शाखाहरू भने करिब तीन किलोमिटर टाढा डुम्रेमा रहेको आफ्नै भवनबाट सञ्चालन भइरहेको उहाँको भनाइ छ । 

प्रमुख प्रशासनिक भवन निर्माण नहुँदा अहिले दुई वटा भवनबाट काम चलाउ रूपमा सेवा प्रवाह गरेको र साना कोठा भएक कारण सेवा प्रवाहमा कठिन भएको छ । "स–साना कोठा छन्, कार्यालय दुई ठाँउमा राखिएको छ," प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले भन्नुभयो, "साना कोठा हुँदा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको छ ।" उहाँका अनुसार भवन निर्माणको काम छिटो गरे अझै नौ महिना जति लाग्ने देखिन्छ । 

ताकेता गर्दा पनि काम अघि नबढाई कारबाही प्रक्रियामा जाने उहाँले स्पष्ट पार्नुभयो । यता पिपी ईश्वरी जेभी मन्थलीले भवन निर्माणको ‘स्टक्चर’ को काम सकिएको र अब थपिएको म्याद भदौ अन्तिमसम्ममा सबै काम सकिने दाबी गरेको छ । उक्त निर्माण कम्पनिका ठेकेदार का ठेकेदार अमित कार्कीले निर्माण सामग्रीको ल्याब टेस्ट रिपोर्ट आउनु ढिलाई हुँदा भवन निर्माणको काम बिचमा डेढ महिना जति काम रोकिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, "पहिला पनि ल्याब टेस्ट गरेर निर्माण सामग्री झारेको हो । पछि पनि झारेको सामग्रीको ल्याब टेस्ट गर्न पालिकाले विधि विज्ञानशाला पठाएको थियो । त्यसको रिपोर्ट बेलैमा नआउदा काममा ढिलाई भएको थियो । अहिले रिपोर्ट आई सकेकाले आज (आइतबार)बाट काम सुरु भएको छ ।"

सुरुमा भवन निर्माणको डिजाइन चेन्ज गर्नु परेकोले सम्झौता गरेर १८ महिना जति साइडमा निर्माण सामग्री झारेर काम नगरी बस्नु परेको र काम गर्ने वातावरण भयो भने भदौसम्म सकिने उहाँको भनाइ छ ।