हरिकृष्ण ऐडी
मुगु, जेठ ४ गते । रारामा पाँचौँ ट्रेल-रन जेठ ९ गते रारा तालको किनारामा हुने भएको छ ।
नेपालकै प्रमुख पर्यटकिय क्षेत्र रहेको रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न र कर्णाली प्रदेशबाट राष्ट्रिय स्तरका एथ्लेटिक्स खेलाडीहरू पहिचान गर्ने उद्देश्य अनुरूप वार्षिक रूपमा आयोजना गरिने रारा ट्रेल–रनको पाँचौं संस्करण सञ्चालन गर्न लागिएको हो ।
हनुमानध्वज गुल्म राराका गुल्मपति खीमबहादुर अधिकारीका अनुसार नेपाली सेनाको आयोजनामा हुने प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने खेलाडीलाई २० हजार पुरस्कार, प्रमाणपत्र र मेडलको व्यवस्था रहेको छ ।
उहाँकाअनुसार रारा ट्रेल– रन प्रतियोगितामा सहभागी हुन आउने खेलाडीले जेठ ४ गतेदेखि ८ गतेको बिहान १० बजेसम्म अफ्नो नाम दर्ता गराउन सक्ने छन् भने उहाँहरूको मेडिकल जाँच सोहि दिन १२ बजे गरिने र इभेन्ट बृफ ३ बजे हुने गुल्मपती अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, "दौड जेठ ९ गते बिहान ७ बजे सुरु हुने र दौडमा सहभागी हुने खेलाडीले मौसम सुहाउँदो खेल पोषाकमा उपस्थिती हुनुपर्ने छ । मेडिकल जाँचमा दौडका लागी स्वस्थ नदेखिएका व्यक्तिलाई दौडमा सहभागी गराइने छैन ।"
रारा ट्रेल रन प्रतियोगिता नेपाली सेनाले बर्सेनि रारामा आयोजना गर्दै आएको छ ।