केदार तिमल्सिना
बनेपा, जेठ ४ गते । नेपाली सेनाको २६ नम्बर बाहिनी भकुण्डेबेशी काभ्रेपलाञ्चोकको आयोजनामा आईतबारदेखि ‘बाहिनीपति ट्रफी’ सुरु भएको छ । बाहिनीपति ट्रफी प्रतियोगिता अन्र्तगत आईतबार भएको फुटबलमा श्रीमेहेर गण धुलिखेलले इन्द्रध्वज गण सिन्धुपाल्चोकलाई १–० गोलले हराएको हो ।
खेलमा श्रीमेहेरका तर्फबाट श्रीजन बानिँयाले गोल गर्नुभएको थियो । ट्रफीको उद्घाटन गर्नुहुँदै नेपाली सेना २६ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी निर्जलबहादुर अधिकारीले सेनाले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा अघि बढाउँदै हरेक वर्ष प्रधान सेनापति, पृतनापति र बाहिनीपति ट्रफीको आयोजना गर्दै आएको बताउनुभयो ।
उहाँले खेलकुदले सेनाको सकल दर्जाको शारीरिक तथा मानसिक पक्षको विकास गरी सक्षम, अनुशासित र सहासिक नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने फौज तयार गर्न खेलकुद एक अभिन्न अङ्गको रुपमा रहेको बताउनुभयो । खेलकुदले सैनिकको आत्म भरोसा अभिबृद्धि गर्नुको साथै टिम स्प्रिरिट कायम राख्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
नव प्रतिभाहरुको खोजी गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलकुदमा संस्था र राष्ट्रलाई चिनाउने अभिप्रायले नेपाली सेनाले खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको बताउनुभयो । प्रतियोगितामा २६ नम्बर बाहिनी अन्र्तगत धुलिखेलमा रहेको श्रीमेहेर गण र सिन्धुपाल्चोकमा रहेको इन्द्रध्वज गण र त्यहाँ कार्यरत सेनाहरुले सहभागिता जनाउने छन् ।
बुधबारसम्म चल्ने प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, एथलेटिक्स अन्र्तगतका ज्याबलिङ थ्रो, लङ जम्प, सट जम्प, हाइजम्प, एक सय, दुई र चार सय मिटर दौडलगायतका विविध खेलहरु सञ्चालन गरिने आयोजक २६ नम्बर बाहिनीले जनाएको छ ।
ट्रफी अन्र्तगत फुटबल खेल धुलिखेलमा, भलिबल र बक्सिङ सिन्धुपाल्चोकको चौतारामा हुनेछ भने काभ्रेपलाञ्चोकको भकुण्डेमा प्रतियोगिताको समापन र बास्केट बल, एथलेटिक्स अन्र्तगतका खेलहरु हुनेछन् । प्रतियोगितामा करिब चार सय खेलाडीहरुले सहभागिता जनाउनेछन् भने १८० वटा मेडल प्रदान गरिनेछ ।