काठमाडौँ, चैत १७ गते । हाल दुबईमा एरोनोटिकल इन्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो । चौबन्दी चोली र फरियामा सजिएकी गीताले दसैँमा रातो माटोले घर पोतेको, जमरा राखेको तथा तिहारमा देउसी खेलेको स्मरण गरेपछि सायद आ–आफ्नो जीवनसँग मेल खाएर होला सबैजना भावुक भएका थिए । “दसैँ आएपछि स्कुल छुट्टी हुन्थ्यो । दसैँका बेला घर सिँगारेर चिटिक्क पार्दा खुब आनन्द आउँथ्यो । हामीहरू र गाउँका हाम्रो उमेरका केटाकेटी निकै रमाउँथ्यौँ । घरमा जमरा राखेपछि हरेक दिन बिहानै उठेर हेथ्र्यौं, कत्रा भए भनेर । पिङ खेल्ने र स्थानीय खानाका परिकारको अर्कै मज्जा । तिहारको भाइटिका तथा देउसीमा रमाएको सायदै कसैले बिर्सेको होला”, गीताले स्मरण गर्नुभयो ।
गीताको भन्दा कम भावाकुलता थिएन एक सय ८० वर्षअघि बर्मा पुगेका बाजेका चौथो पुस्ता लक्ष्मण न्यौपानेको अनुभव । उहाँले पहिलो पटक गत वर्ष नेपाल टेक्दाको बडो रोचक अनुभव सुनाउनुभयो । नेपाली भूमि टेक्दा भावुक भएर जमिन ढोगेका लक्ष्मणले विमानस्थलका कर्मचारीको गाली पनि मिठो लागेको प्रसङ्ग सुनाउनुभयो ।
“इमिगेरेसन लाइनमा थिएँ । एकजना कर्मचारी निकै कड्किएर आउनुभयो र कराउनुभयो– तपाईँ नेपालीको लाइनमा नबसेर किन विदेशीको लाइनमा बसेको भनेर । प्रहरीले मसँग झर्किँदै गालीकै शैलीमा यसो भनिरहँदा पनि मेरो मनभित्र भने निकै मिठो लागिरहेको थियो । किन भने उहाँले मलाई नेपाली देखेरै नेपालीको लाइनमा बस्न भन्नुभएको थियो । तर त्यो गाली मलाई भने मिठो लागेको भयो ।”
उहाँले त्यो बेलैदेखि बर्मामा पुग्नुपरेका र हाल त्यहाँ रहेका नेपालीका अनेक कथा सुनाउनुभयो । नेपाली मूलका बर्मेलीको मठमन्दिर, देवालय, शिवालय, चौतारी, पोखरी, नेपाली चाडबाड र संस्कारमा हुने एकरूपताका जीवन्त कुरा र वास्तविकता उहाँले सुनाउनुभयो ।
उहाँ र त्यस कार्यक्रममा आफ्ना धारणा राख्ने विभिन्न देशमा रही आएका नेपाली भाषीहरूले दसैँका प्रचलन, तिहारको संस्कार र सयपत्री माला, लिङ्गे र रोटे पिङ, साउने सङ्क्रान्तिमा लुतो फाल्ने चलनदेखि मकर सङ्क्रान्तिको तरुल र चाकु, असार १५ को दही चिउरादेखिका नेपाली संस्कार झलझली याद आउने अनुभव सुनाए । उनीहरूले कोही बाध्यताले त कोही रहरले विश्वका विविध मुलुकमा पुगेको बताए पनि आफ्नो मातृ तथा पितृ भूमिको माया भने मुटुमै गाडिएर रहेको अनुभव साटासाट गरे ।
नेपाली मूलका र संसारका विभिन्न २७ देशमा छरिएर रहेका नेपालीभाषी जम्मा भएका थिए अघिल्लो साता थाइल्यान्डको राजधानी बैंककमा । यो अवसर जुराइदिएको थियो इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाकाले । यही अवसरको सदुपयोग गर्दै नेपाली भाषीहरूले पनि दिल खोलेर आफ्ना विगत बाँडे र मनका कुरा पोखे । अनि आफ्ना सन्ततिहरूलाई पनि नेपालीपन सिकाइएको बताए । उनीहरूको भाव थियो नेपाली भाषा र संस्कृतिले नै संसारमा छरिएर रहेका नेपाल भाषीलाई जोड्न सक्दछ ।
बैकका पछिल्लो पुस्ता मात्र नभएर कम्तीमा तीन÷चार पुस्तादेखि नै विदेश बस्दै आएका नेपाली मूलका र नेपालीभाषीहरु पनि जम्मा भएका थिए । तीमध्ये अधिकांशले नेपाल आएका अनुभव सुनाएका थिए भने कतिले पितापूर्खाले भनेसुनेका कुरा स्मरण गराएका थिए ।
कतिपय उनीहरू आफैँ त कति उनीहरूका पितापूर्खा जन्मिएको जन्मिएको माटो, आफ्नो जन्मघर, नेपाली संस्कार र संस्कृति, आफ्ना भोगाइ र परिवेश तथा भाषाका बारेमा एकापसमा चर्चा गरेका थिए । विश्वका विभिन्न मुलुकमा पुगेका ती नेपालीभाषीका सन्ततिले भूगोलको सीमाभन्दा पर पुगेर भावना र आफ्नोपनलाई फराकिलो पारेका थिए । विश्वका जुनसुकै मुलुकमा पुगे पनि नेपाली मन, नेपालीपन, नेपाली भाषा, साहित्य, कला र संस्कृति अँगाल्दै आफ्ना सन्तति र नयाँ पुस्तालाई यो मौलिकता हस्तान्तरण गर्ने हुटहुटी उनीहरूमा देखिन्थ्यो ।
यसै अवसरको सदुपयोग गर्दै यही भेलालाई पहिलो महाधिवेशनको स्वरूप दिएर उनीहरूले नेपाली जातीय, सांस्कृतिक पहिचानलाई जीवन्त राख्न इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको अध्यक्षतामा एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) पनि गठन गरेका थिए ।
कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले एएनओ विश्वमा रहेका नेपालीभाषीहरूलाई एकताको सूत्रमा बाँध्न र एकापसमा सहयोग र सद्भाव कायम राख्नसक्ने संस्थाका रूपमा विकास होस् भनी कामना गर्नुभयो ।
नेपाल र नेपालीका नाममा जेजस्ता संस्था स्थापना भई सङ्गठित भए पनि नेपाली भाषा, साहित्य, संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन गरी नेपालीबिचको सहयोग र समन्वयमा लाग्ने सो संस्थाका प्रतिनिधिहरूले बताएका थिए ।
एएनओका अध्यक्ष अधिकारीले यो अभियान विशुद्धरूपमा संसारमा छरिएर रहेका नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीलाई एकताको एउटै मालामा गाँस्ने भावना र उद्देश्यले सुरु गरिएको जानकारी दिनुभयो । यो अभियान नेपाल, नेपाली जाति, नेपाली मातृ तथा पितृभूमि, नेपाली संस्कार र संस्कृति एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीको साझा र आफ्नै संस्था भएको पनि स्पष्ट गर्नुभयो ।
उहाँको यो प्रतिबद्धतापछि त्यहाँ उपस्थित सबैले संसारमा रहेका नेपाली नागरिकका छोराछोरीलाई पनि नेपाली भाषा, संस्कार, संस्कृतिको ज्ञान दिलाइ उनीहरूमा पनि नेपाली पहिचानको जगेर्ना गरिराख्न तथा विदेशमा रहेका भावी सन्ततिहरूलाई आफ्नो मातृ तथा पितृभूमिका बारेमा सदैव जानकार बनाइराख्न यसै संस्थामार्फत काम गर्ने प्रण गरेका थिए ।
नेपालीभाषीका नाममा संसारका जुनसुकै देशमा जेजस्ता संस्था स्थापना भए पनि तथा उनीहरू सङ्गठित भए पनि नेपालीबिचको सहयोग, सद्भाव र समन्वयमा लाग्नुपर्ने सबैको सुझाव थियो ।
भेलामा जम्मा भएका एक सयभन्दा बढी सहभागीले यो अभियानलाई संसारका नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीबिच पुर्याई उनीहरूलाई एकत्रित गरेर भाषा र संस्कृतिका माध्यमबाट नेपाली जातीलाई एकताको एउटै मालामा गाँस्न आग्रह गरेका थिए ।
साथै आफ्नो मातृ तथा पितृभूमिमा टेक्दा नेपाली माटोले आफूहरूलाई चिन्न सक्ने वातावरण निर्माणका लागि यो अभियान लाग्नुपर्ने कामना तथा नेपाली भाषाका कारण धेरैभन्दा धेरै नेपाली जातिले नेपाली भूमि पछ्याउन सकुन् भन्ने आशय सो भेलाको थियो ।
कहाँसम्म छ नेपालीमनको भूगोल रु बर्मामा बसोबास गरेको चार पुस्ताका न्यौपानेदेखि थाइल्यान्ड हुँदै अरू देशमा बसोबास गरिआएकाहरूको नेपाली टोपी, नेपाली पोसाक र नेपाली साहित्यको अध्ययन तथा विद्यावारिधि देख्दा नेपालीमनको सिमाना संसारभर फैलिएको छ ।
यही भावनालाई समेटेर विश्वमा छरिएर रहेका नेपालीभाषीहरुलाई एकत्रित गर्न एएनओजस्ता संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ । नेपालीमनहरुलाई जोड्ने सबैभन्दा बलियो औजार भाषा र संस्कृति नै हो । भाषा र संस्कृतिले निर्माण गरेको एकता अरू माध्यमबाट बनेकोभन्दा प्रभावकारी हुन्छ । यही सांस्कृतिक एकताले नै राष्ट्रियता कुनै पनि देशको भूगोलका चार सीमा र नागरिकताभन्दा बाहिर पुगेर पनि खोज्न र पाउन सकिन्छ भन्ने सन्देश दिनसक्छ ।