• ३ जेठ २०८२, शनिबार

डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न साक्षरता अनिवार्य : सञ्चारमन्त्री गुरुङ

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ। तस्बिरः केशब गुरुङ

काठमाडौँ, जेठ २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न डिजिटल साक्षरता अनिवार्य हुनुपर्ने बताउनुभएको छ। 

क्यान फेडरेसनले आयोजना गरेको “मल्टी–स्टेकहोल्डर डिस्कसन अन डिजिटल नेपाल फ्रेमवर्क २.०  एन्ड वे फर्वाड” शीर्षक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले  यस्तो बताउनुभएको हो ।

नागरिकको एप प्रयोग गर्ने साक्षरतामा कमी देखिएको औंल्याउँदै उहाँले भन्नुभयो, ‘‘डिजिटल फ्रेमवर्क साकार पार्न डिजिटल लिटरेसी आवश्यक छ, हामीले साक्षरतासँगै लैजानुपर्छ।”

त्यस्तै, उहाँले डिजिटल इन्फास्ट्रक्चर निर्माण र आवश्यक नीति बनाउने मुख्य दायित्व समेत सरकारको रहेको प्रष्ट पार्नुभयो। नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङका अनुसार डिजिटल नेपाल फ्रेमवर्क, २०७६ मा ८ वटा प्रमुख क्षेत्रको ८० वटा डिजिटल पहलको पहिचान भएको र कार्यक्रम कार्यान्वयन कार्ययोजनामा प्रत्येक पहलसँग सम्बन्धित सरोकारवालाको पहिचान र समयअवधि तोकिएको थियो।

डिजिटल नेपाल फ्रेमवर्क २.० सोह्रौं योजनासँग समेत अनुकुलन हुनेगरी तयार गरिएको र यसले डिजिटल आधार स्तम्भलाई जोड दिएर कनेक्टिभिटी, प्राविधिक सीप, डेटा एकीकरण र साइबर सुरक्षाजस्ता आधारभूत पक्षलाई सुदृढ बनाउने लक्ष्य लिएको मन्त्री  गुरुङले प्रष्ट पार्नुभयो।

डिजिटल नेपाल फ्रेमवर्क २०७६ ले कनेक्टिभिटी लगायतका डिजिटल फाउन्डेसनमा सुधार, क्षमता अभिवृद्धि, डिजिटल पहलमार्फत आर्थिक सामाजिक रूपान्तरणमा जोड दिएको थियो। डिजिटल नेपाल फ्रेमवर्क २.० ले उक्त फ्रेमवर्क कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीको सम्बोधन गर्नेगरी रूपरेखा प्रस्ताव गरेको उहाँले जानकारी दिनुभयो।

सञ्चार सचिव राधिका अर्यालले सरकारको पहिलो डिजिटल फ्रेमवर्कको विगतको अनुभवले सुधार गर्दै डिजिटल फेमवर्क २.० मस्यौदा तयार पारिएको बताउनुभयो। निजी क्षेत्रलाई आवश्यक सुझाव दिन उहाँले आग्रह गर्नुभयो। क्यान फेडरेसनका अध्यक्ष सुनैना घिमिरे पाण्डेले अब डिजिटल युग भएकाले सरकारले यस क्षेत्रलाई नीतिगतसँगै आर्थिक लगानीको प्राथमिकतामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो।