चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ २ गते। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव–२०८२ को आयोजना गरिएको छ। यही जेठ १५, १६ र १७ गते तीन दिने पर्यटन महोत्सव आयोजना गरिएको हो।
सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखुमा शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराइएको छ। समुद्र सतहदेखि तीन हजार ५१५ मिटर उचाइ रहेको जैविक विविधताले भरिपूर्ण पर्यटकीयस्थल सिदिङ्वाधाम क्षेत्रको प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यले पर्यटन महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
सिदिङ्वा धामसहित गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुङ्गा लगायतका स्थलको थप प्रचारप्रसार साथै प्रवर्धन गर्न पनि महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवमार्फत जैविक विविधताको संरक्षण, ग्रामीण हुँदै अन्तर्राष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रवर्धनमा टेवा पुग्ने अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो।
अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा रहेको धार्मिक पर्यटकीय क्षेत्र सिदिङ्वा धाम पर्यटकीय महोत्सवले पूर्वी नेपालको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा राखिएको पनि अध्यक्ष राईले बताउनुभयो। उहाँका अनुसार पर्यटन महोत्सवले गाउँपालिकाको आर्थिक समृद्धिमा समेत महत्त्वपूर्ण टेवा पुग्ने विश्वास राखिएको छ। सिदिङ्वा धाम क्षेत्र कञ्चनजङ्घा पदयात्राको मुख्य प्रवेश मार्गका रूपमा रहे पनि प्रयाप्त प्रचारप्रसार नहुँदा पर्यटन दृष्टिले सोचेजस्तो उपलब्धी नभएको पनि गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना)को भनाइ छ।
उपाध्यक्ष कडरियाका अनुसार पर्यटन महोत्सवले यस क्षेत्रको पर्यटकीय स्थलहरूको थप प्रचारप्रसार हुने र पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा रहेको छ। यता तीन दिने पर्यटन महोत्सवमा सिदिङ्वाधाम दर्शन यात्रा, खेलकुद गतिविधि, स्थानीय उत्पादनको प्रदर्शन, सांस्कृतिक प्रस्तुति लगायतका गतिविधि हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकले बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत विकका अनुसार खेलकुदमा वडास्तरीय भलिबल प्रतियोगिता हुने छ।
उहाँका अनुसार भलिबल प्रतियोगिताका विजेताले ५० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ। त्यस्तै उपविजेताले ३० हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने छ। महोत्सवका अवसरमा हाफ म्याराथन प्रतियोगिता पनि हुने र म्याराथनका विजेता प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने छन्।
यसैगरी महोत्सवमा सांस्कृतिक प्रस्तुतितर्फ नौमति बाजा, च्याब्रुङ नाच (केःलाङ) सहित स्थानीय समुदायमा आधारित संस्कार संस्कृतिको प्रदर्शन हुने छ। हिमाली भेगमा पशुपालन गरिँदै आएको याक, चौरी र भेडा प्रदर्शन गर्ने कार्यक्रम रहेको पनि गाउँपालिकाले जनाएको छ। स्थानीय उत्पादन तथा हस्तकलाका सामग्रीसमेत प्रदर्शनीमा राखिने भएको छ। महोत्सव सम्पन्न गर्नका लागि ३७ लाख ९० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्रीले जानकारी दिनुभयो।