रजनी योगी
सुर्खेत, चैत १४ गते । चिकित्सक नहुँदा कर्णाली प्रदेश अस्पतालको न्युरो सेवा प्रभावित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि अस्पतालको न्युरो (नसासम्बन्धी) सेवा प्रभावित भएको हो ।
विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा.निलम खड्का काजमा ट्रमा अस्पताल काठमाडौँ फर्किनुभएको छ । कर्णाली प्रदेश अस्पतालका लागि मन्त्रालयले पठाएको चिकित्सक अहिलेसम्म हाजिर भएका छैनन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले २०८० भदौ १७ गते न्यूरोलोजिस्ट डा.ओमविक्रम शाह, डा.प्रभात झा, डा.सुतप यादव र डा.चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो ।
जसमध्ये पहिलो ६ महिना डा.प्रभात र डा.चित्रराज प्रदेश अस्पतालमा हाजिर भएर गइसक्नुभएको छ । अहिले प्रभात नारायणी अस्पताल पर्सामा हुनुहुन्छ भने चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत रहनुभएको छ ।
त्यस्तै पहिलो ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर हुनुभएका डाक्टरद्वय ओमविक्रम र सुतप हालसम्म पनि प्रदेश अस्पताल सुर्खेतमा हाजिर हुनुभएको छैन । जसका कारण अस्पतालको न्युरो सेवा प्रभावित भएको अस्पतालमा निर्देशक डा.डम्बर खड्काले बताउनुभयो ।
‘‘मन्त्रालयको शाखाले पठाएको पत्रअनुसार उहाँहरू फागुन १७ गतेभित्र प्रदेश अस्पतालमा हाजिर हुनुपर्ने थियो । तर, हालसम्म पनि हाजिर हुन आउनुभएको छैन,’’ डा.खड्काले भन्नुभयो । डा. खड्काका अनुसार दैनिक २५ जना ओपिडी र तीन जनाको सङ्ख्यामा सघन अप्रेसन गर्नुपर्ने हुन्छ । दैनिक हुने सडक दुर्घटना र अन्य न्युरोको उपचार गर्न समेत बाहिर पठाउनुपर्ने बाध्यता छ ।