• १३ साउन २०८१, आइतबार

बसाइसँगै सर्‍यो होली

blog

होली ।

दोधारा चाँदनी (कञ्चनपुर), चैत १० गते । असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक् तरिकाले मनाइने गरिन्छ । कैलाली र कञ्चनपुरका रानाथारु समुदायको होली पर्व भिन्न छ भने अन्य पहाडी जिल्लाबाट यहाँ बसाइसराइ गरी आउनेको होली भिन्न छ । 

पछिल्लो समय पहाडी जिल्ला अछाम, बैतडी, दार्चुला र डडेलधुराबाट तराईमा बसाइँ सरेर आउनेले पनि आ-आफ्नो ढङ्गले होली मनाउन थालेका छन् । यहाँ बसोबास गर्ने अछामी समुदायले भिन्न तरिकाले होली मनाउने गरेका छन् भने डडेलधुराको रुपाली होली भिन्न छ । त्यसैगरी, दार्चुला र बैतडीबाट बसाइँ सरी आएकाले होली भिन्न तरिकाले मनाउने गरेका छन् । 

हाल कञ्चनपुरमा अछामी होली, रुपाली होली र दार्चुला बैतडीको होली भिन्न भिन्न तरिकाले मनाउने गरिएको छ । अछामबाट बसाइसराइ गरी यहाँ आएकाले आफ्नो संस्कृति संरक्षणका लागि होली पर्व मनाइएको अछाम सेवा समाज कञ्चनपुरका अध्यक्ष रूपबहादुर रावलले बताउनुभयो । “हाम्रो अछाममा सेतो जामासहितको लुगा लगाएर रङ नलगाई होली खेल्ने गरिन्छ”, उहाँले भन्नुभयो, “अहिले संस्कृति संरक्षणका लागि बसाइँ सरी जो जहाँ छौँ, त्यही होली मनाउने गरेका छौँ ।”

त्यसैगरी, डडेलधुराको रुपालबाट बसाइँ सरी कञ्चनपुर आएकाले पनि भिन्न तरिकाले होली मनाउने गरेका छन् । “रुपालवासीको होली गाउने खेल्ने तरिका अन्य समुदायको भन्दा भिन्न छ”, स्थानीय डम्बरदत्त भट्टले भन्नुभयो, “अहिले हाम्रो मौलिक होली पर्व जोगाउन यहाँ होली कार्यक्रमको आयोजना गर्ने गरेका छौँ ।” दार्चुलाबाट कञ्चनपुर बसाइँ सरी आएकाको पनि भिन्न होली छ । 

पाँच दिनसम्म आफन्तको घर-घरमा गएर होली खेल्ने र एकापसमा शुभकामना आदानप्रदान गर्ने गरेको मालिकार्जुन सेवा समितिका सचिव ओमकारप्रसाद विष्टले बताउनुभयो । “हामी लगातार पाँच दिनसम्म होली मनाउँछौँ”, उहाँले भन्नुभयो, “हाम्रो होलीमा रङ्ग दल्ने मात्रै नभई लोकगाथा र लोकबाजाका साथमा नाच प्रदर्शन गर्छौ ।” उहाँले दार्चुलाबाट बसाइँ सरी कञ्चनपुरमा आएदेखि नै यहाँ मौलिकरुपमा होली पर्व मनाउन थालेको बताउनुभयो । रासस